काठमाडाैं। तामाङ सगरमाथा आरोही संघले काठमाडौंमा सोनाम ल्होछारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
पूर्वऊर्जा तथा जलश्रोत राज्यमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य सूर्यमान दोङको प्रमुख आतिथ्यता आयोजना गरिएको कार्यक्रममा तामाङ सगरमाथा आरोहीहरुलाई सम्मानसमेत गरियो। सम्मानित हुनेमा सगरमाथा आरोही चतुरकुमार तामाङ, जेस्मान तामाङ र तुलबहादुर तामाङ रहेका छन्।
कार्यक्रममा विशेष अतिथिका रुपमा अन्तर्राष्ट्रिय तामाङ परिषदका संस्थापक परशुराम तामाङ, पूर्वकृषि राज्यमन्त्री राधिका तामाङ लगायतको उपस्थिति थियो। शुभकामना मन्तव्य दिँदै प्रतिनिधिसभा सदस्य दोङले तामाङ आरोहीहरुलाई एकताबद्ध गर्ने उदाहरणीय काम संस्थाले गरेको बताए। आरोहीहरुको पिरपर्का बुझ्न स्थापना गरिएको यस संस्थालाई सबैले सहयोग गर्नुपर्नेमा विशेष अतिथि पर्शुराम तामाङले जोड दिए।
कार्यक्रममा संघकी अध्यक्ष शर्मिला स्याङतान (लामा)ले नेपालको आरोहण क्षेत्रलाई समृद्ध, व्यवस्थित तथा दिगो बनाउन भूमिका खेल्ने बताइन्। उनले आदिवासी समुदायका आरोहीहरुबीच सौहार्दता, मित्रता तथा एकता अभिवृद्धि गर्ने बताउँदै भनिन्,‘संस्थाले नेपालको पर्वतीय पर्यटनलाई समृद्ध, व्यवस्थित र दिगो बनाउन आवश्यक पहल गर्ने, तामाङ समुदायका आरोहीहरुलाई हिमाल आरोहण तथा कार्यस्थलमा आइपरेका समस्या वा दुर्घटना तथा अन्य आकस्मिक परिस्थितिमा सहयोग गर्ने छ।’
संघले हिमाल आरोहणको दौरान दुर्घटना भई घाइते भएका र मृत्यु भएका आरोहीका परिवारलाई सहयोग गर्दै आएको अध्यक्ष लामाको भनाइ छ। कार्यक्रममा इन्दिरा गोले, सुभाष तामाङ, लक्ष्मी स्याङ्तान, जीवन बोम्जनलगायत कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।