काठमाडौं। स्कटल्याण्डको राजधानी एडिनबर्गमा बास बस्ने पर्यटकले कर तिर्नु पर्ने भएको छ। स्थानीय सरकारले पर्यटक कर (आगन्तुक लेवी) स्वीकृत गर्दै याे नियम बनाएकाे हाे।
यो नियम सन् २०२६को मध्यदेखि लागु हुनेछ। त्यसपछि निश्चित प्रकारका होटल, होस्टल, अपार्टमेन्ट तथा गेस्ट हाउसमा बस्ने पर्यटकले प्रतिरात आफ्नो आवास लागतको ५ प्रतिशत शुल्क बुझाउनु पर्नेछ। यो शुल्क पाँच रातसम्म कायम रहनेछ।
सिटी अफ एडिनबर्ग काउन्सिलका अनुसार पर्यटन पूर्वाधार निर्माण र दिगो विकासका लागि सो शुल्क उठाउने व्यवस्था गरिएको हो।
सन् २०२३ मा एडिनबर्गमा करिब ५० लाख पर्यटकले २.२ अर्ब पाउन्ड (२.७ अर्ब अमेरिकी डलर) खर्च गरेको राष्ट्रिय पर्यटन निकाय भिजिट स्कटल्याण्डको वेबसाइटले जनाएको छ।
नयाँ शुल्कले सन् २०२८ वा २०२९ सम्ममा वार्षिक ४५ देखि ५० मिलियन पाउन्ड (५६ देखि ६२ मिलियन अमेरिकी डलर) उठ्ने अपेक्षा गरिएको छ।
एडिनबर्गमा पर्यटक कर सन् २०१८देखि चर्चामा थियो। गत जुलाईमा आगन्तुक लेवी (स्कटल्याण्ड) ऐन लागू भएपछि यो सम्भव भएको सिएनएनको रिपोर्टमा उल्लेख छ।
एडिनबर्ग हालका वर्षहरूमा पर्यटक कर लागू गर्न युरोपेली सहरहरूको सूचीमा सामेल भएको छ।
वेल्श सरकारले यसै वर्ष स्कटल्याण्डमा पनि यस्तै कानुन ल्याउने योजना बनाएको छ। त्यस्तै भेनिसले गत वर्ष डे–ट्रिपरहरूको लागि अस्थायी प्रवेश शुल्क प्रयोग गरेको थियो।