गोरखाको धार्चे गाउँपालिकाका साने गुरुङको जीवन कथा एक असाधारण सङ्घर्ष र सफलताको गाथा हो। गरिबी र कठिनाइहरूले घेरिएको बाल्यकाल, जहाँ उनी गोठमा बस्थे र मैलो कपडामा दिन बिताउँथे, त्यहाँबाट सुरु भएको उनको जीवन यात्रा आज पर्यटन क्षेत्रको एक प्रसिद्ध व्यक्तित्वसम्म पुगेको छ।
युवा साने गुरुङको मनमा एक ठूलो सपना थियो – आफ्नो जीवनस्तर परिवर्तन गर्ने।
‘मेरो पढाइ भनेको छैन, साधारण लेखपढ मात्र हो। जम्मा मैले पढेको भनेको २ कक्षा मात्र हो,’ उनले आफ्नो जीवनको सुरुआतको वर्णन गर्दै भने। शैक्षिक अवसरहरू सीमित थिए, तर उनको आत्मविश्वास र सपनाहरू असीमित थिए।
गाउँमा खेत बाँझै राख्दा हुने सामाजिक टिका–टिप्पणी र बुवा–आमाको सपना छोरा गाउँमा बसेर खेती गर्ने भन्ने चाहनाको बीचमा, उनले आफ्नो भाग्य आफैं बनाउने निर्णय गरे। उनले १० पाथी आलु बोकेर एक साहसिक यात्रा सुरु गरे। ‘गुम्दाबाट ४३ सालमा १० पाथी आलु बोकेर गोरखा बजारमा बेच्न हिडेँ। ५ रुपैयाँ पाथीका दरले १० पाथी आलु बेचेर त्यही पैसा बोकेर म पोखरा झरे।’ यो थियो उनको सपनातर्फको पहिलो कदम। गुरुङ आज पनि त्यो दिन सम्झदै भनछन ‘मलाई बाटो देखाउने त्यही १० पाथी आलु नै हो।’ आलु बिक्रीबाट आएको पैसाले घरमा आवश्यक पर्ने सर्दाम नुन तेल किन्नु भन्ने बुवाआमाको कुरालाई काटेर उनी गोठाले जीवनस्तरबाट माथि उठ्न उनी पोखरा झरे।
‘२०४३ साल मंसिर १६ गते पोखराबाट डुम्रे हुँदै थोराङपास गरेको हो पहिलो पटक भारी बोकेर। धेरै साथीहरूले लेक लाग्छ भन्थ्यो तर म युवा उमेरको भएकोले होला भारी बोकेरै मैले त्यो यात्रा पुरा गर्न सफल भए।’ यो यात्रा उनको जीवनको एक महत्वपूर्ण मोड बन्यो।
त्यसपछि उनले दोलखा जिल्लाको जिरी हुँदै सगरमाथा बेस क्याम्प सम्मको यात्रामा पनि भारी बोके। उनले २००१ मा गाइडको लाइसेन्स लिए यो थियो उनको सपनातर्फको अर्को महत्वपूर्ण कदम। ‘४४ साल तिर काठमाडौंमा भारी बोकेर पनि हिँडे सडकमा,’ साने गुरुङले आफ्नो सङ्घर्षको एक अर्को पाटो खोलेर भने, ‘नाम्लो बोकेर भारी खोज्दै हिँड्थे म त्यो बेलामा। मलाई काम गर्न लाज हुँदैन, काम गरेर खानु पर्छ, भोकै बस्नुहुन्न भनेर मैले भारी पनि बोके।’
उनले भरीया र किचन हेल्परको काम गर्न थाले। हरेक कठिन क्षणमा उनले आफ्नो कौशल र साहसलाई निखार्दै गए। ‘भारी बोकेको पैसाले मैले भाषा, अंग्रेजी भाषा पनि सिके।’ भाषा कमजोर भए पनि उनको दृढ संकल्पले उनलाई अघि बढ्न प्रेरित ग¥यो।
माओवादी द्वन्द्वको कठिन समयमा पनि उनी डटेर अघि बढे। ‘द्वन्द्वकालमा आर्मीले माओवादीले दुख दिएकै हो। मओवादीहरु हाम्रो ग्रुपमा मिसिन आउने, हातहतियार छैन भन्दै खानतलासी गर्ने र चन्दा माग्ने।’ तर उनले कहिल्यै हार मानेनन्।
साने गुरुङको सबभन्दा ठूलो चिन्ता थियो उनको जन्मभूमिको विकास। ‘हाम्रो गाउँ र क्षेत्र अझै पनि पछाडि परेको छ,’ उनले गहिरो निराशाका साथ भने, ‘मैले आफ्नो जीवनको हरेक संघर्षबाट सिकेको छु कि विकास केवल व्यक्तिगत सफलतामा मात्र निर्भर हुँदैन, बरु समुदायको सामूहिक उत्थानमा हुन्छ।’
त्यही सोचले प्रेरित भएर उनले धार्चे मनास्लु पर्यटन विकास समितिको स्थापना गरे। ‘हामीले यस संस्थाको माध्यमबाट पर्यटन क्षेत्रलाई विकास गर्न चाहन्छौं,’ उनले स्पष्ट पारे, ‘किनभने पर्यटन मात्र एक व्यवसाय होइन, यो हाम्रो समुदायलाई विश्वसँग जोड्ने एक महत्वपूर्ण माध्यम हो।’
‘सङ्घर्ष गर्नुपर्ने रहेछ सफल हुनका लागि,’ उनको यो भनाइ उनको जीवन दर्शनको सार हो। १० पाथी आलुबाट विश्वका शिखरहरूसम्मको उनको यात्रा, साहस र दृढ संकल्पको एक जीवन्त उदाहरण हो। उनै गुरुङसँग एभरेस्ट पेडियाले ‘गाइडको कथा’ सृङ्खलामा कुराकानी गरेको छ।