बेलायतमा नेपालीहरुको सबैभन्दा सघन बसोबास भएको सहर अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामको सुनचादीको नयाँ शोरुम खुलेको छ।
पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबमस गर्न थालेका गायक श्याम सामसोहाङ राईले अर्की गायिका जानुका राईसँग मिलेर उक्त ब्यबसाय सुरु गरेका हुन्।
बेलायतस्थित अल्डरशटमा हिजो नेपालीज ज्वैलरी एसोशियसनका अध्यक्ष तथा आदिबासी जनजाती महासंघका पनि अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको प्रमुख आतिथ्यमा ह्याप्शायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाटयकर्मी सिर्जना सुब्बाले संयुक्त रुपमा उत्घाटन गरेका छन्।
लण्डनदेखि नजिकै रहेको अल्डरशट बसोबासको लागि मात्र नभई नेपालीहरुका लागि ब्यपारिक केन्द्रको रुपमा समेत विकास हुँदै गइरहेको छ। नेपालीहरुले दर्जनौं रेष्टुरेण्टदेखि किराना पसलहरु खोलेका छन्। यहाँ करिब एक दर्जन सुनचाँदीका पसलहरु संचालनमा रहेका छन्।
नेपालीहरु पहिल्यदैखि सुनचाँदीका गहनामा सौखिन रहेका र सुरक्षित लगानीको रुपमा समेत नेपालीहरुले सुन किन्न थालेकाले सुन व्यवसायमा आफूहरु आकर्षित भएको गायक श्यामले बताए।
सुम्निमा ज्वैलरी एण्ड कलेकशनमा सुनचाँदीका अलवा विभिन्न जातजातीका पोशाकदेखि हस्तकलाका सामाग्रीहरुसमेत बेच्न राखिएको गायिका जानुका राईले बताइन। ‘हाम्रो पसलमा सुनचाँदीबाहेक हस्तकालाका साथमा नेपालीहरुको शान खुकरी, सबै जातजातीका पोशाक, उनीहरुको साँस्कृतिक बाजालगायत बिभिन्न शोभनिरका सामाग्रीहरु सुपत मूल्यमा बेच्न राखेका छौं। यहाँ पसलमा आएर तपाईंहरुले छानीछानी किन्न सक्नुहुन्छ भने अनलाइनमार्फत विश्वभरि डेलिभरीको व्यवस्थासमेत गरेका छौ’, जानुकाले भनिन्।
गायिका जानुका राई मुन्दुमी गायिकाको रुपमा चर्चित छन्। उनले नेपाली कथानक चलचित्र बिनायोमा समेत पाश्र्व गायन गरी गरिसकेका छन्।
श्यामले भने,‘आफूहरु नेपालमा पनि व्यवसायको थोरबहुत अनुभव लिएर आएको हुँदा नयाँ ठाउँमा नयाँ व्यवसाय सुरु गर्न त्यति धेरै चुनौती छैन। अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रमक व्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौं।’
श्यामका मुर्चुङगामा रोए म, साराङगीमा रेटिएँ, मैच्याङ हौ मैच्याङ हौलगायतका गीतहरु लोपप्रिय छन्। पछिल्लो समय मुम्दुम ट्रेलका प्रवर्द्धकका रुपमा समेत चर्चा कमाएका उनको ‘मुन्दुम ट्रेल’ नामक संस्मरणात्मक पुस्तक गत वर्ष सार्वजनिक भएको थियो।