म्याग्दी: बेनीमा सञ्चालन भएको आठौं म्याग्दी महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला– २०८१को १ लाख मानिसले अवलोकन गरेका छन्।
माघे संक्रान्तिको अवसरमा पुस २८ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन गरिएको महोत्सव १ लाख मानिसले अवलोकन गरेको र १० करोडको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ।
संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले भने, ‘महोत्सव १ लाख बढीले अवलोकन गर्नु भएको छ र ८–१० करोडको कारोबार भएको छ।’ उनले महोत्सवको प्रमुख उद्देश्य स्थानीय कला, संस्कृति, पर्यटन, मौलिकता र उत्पादनलाई प्रवर्धन गर्नु भएको र त्यसमा म्याग्दी उद्योग वाणिज्य संघ सफल भएको बताए।
उनका अनुसार १० दिनसम्म चलेको महोत्सवमा ३०वटा स्टलबाट स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्री गरिएको थियो। स्थानीय कला संस्कृति झल्किने गरी लोकदोहोरी प्रतियोगिता, भजन प्रतियोगिता, पुर्ख्याैली नाच प्रतियोगितालगायत खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिएको थियो। त्यस्तै म्याग्दीको पर्यटन प्रवर्धनका लागि विभिन्न प्रचारात्मक सामाग्री प्रस्तुत गरिएको थियो।
माघे संक्रान्तिको अवसर पारेर २०६० सालदेखि बेनी बजारमा महोत्सव सञ्चालन गरिँदै आइएकाे छ। त्यसैको निरन्तरता स्वरुप यस वर्ष म्याग्दी उद्योग वाणिज्य संघको आयोजना र नेपाल मगर संघ (म्याग्दी)को सह–आयोजनामा महोत्सव सञ्चालन गरिएको हो।