शनिबार साँझ ६ बजेर ५५ मिनेटमा सगरमाथा (८८४८.८६ मिटर) को शिखरमा नेपाली आरोहीको पहिलो टोली पुगेका छन्।
एक्सपिडिसन अपरेटर अफ नेपाल (इओए) को व्यवस्थापनमा सेभेन समिट ट्रेकबाट ११ जना नेपाली माउन्टेन गाईड (आरोही शेर्पा) को टोली सगरमाथाको चुचुरोसम्म डोरी टाँग्न सफल भएका छन्।
नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने यो सिजनको पहिलो आरोही टोलीले वसन्त ऋतुको सगरमाथा हिमाल आरोहणको बाटो खुलायो।
आरोहीका लागि डोरी टाँगेर सगरमाथाको चुचुरोसम्म बाटो खोल्नेको नेतृत्व नेपाली आरोही कामीरिता शेर्पाले गरेको थियो।
११ जना रोप फिक्सिङको टोलीमा सोलुखुम्बुका लिडर कामीरिता शेर्पा सहित संखुवासभाका सहायक लिडर सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, तारेमान शेर्पा, पासतेन्जिङ शेर्पा थिए। त्यस्तै सोलुखुम्बु जिल्लाका तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छिरिङ शेर्पा, ङिमा टासी शेर्पा, फुर्वा छोतार र लाक्पा तेन्जी र दोलखाका मिग्मा धन्दु शेर्पा सहित छ।
कामिरिता शेर्पाको यो २६ औं सगरमाथा आरोहण हो। यो सँगै उनले आफ्नै नाममा रहेको सर्वाधिक २५ पटकको कीर्तिमान तोडेका छन्।
आधार शिविरदेखि क्याम्प २ सम्मको रूटमा सगरमाथा प्रदूषण नियन्त्रण समितिले खटाएको शेर्पा (आइसफल डाक्टर) ले क्याम्प २ सम्मको रूट खोलेपछि क्याम्प २ (६४०० मिटर) माथि
सगरमाथा (८८४८.८६ मिटर) सम्मको रूट नेपाली मान्टेन गाईडको टोलीले खुलाएका हुन्।
हिमाल आरोहण क्षेत्रमा हिमालमा जन्मे-हुर्केको शेर्पाहरू विश्वभर परिचित छन्। माइनस डिग्री तापक्रममा बाक्लो हिउँ छिचोल्दै, रूट पहिल्याउदै र पहिचान गर्दै सगरमाथाको टुप्पासम्म डोरी टाँग्ने जोखिमपूर्ण कार्यमा वर्षेनी यी सहासिक नेपाली पर्वतीय गाइडहरूले ज्यानको जोखिम मोलेर रूट खुलाउँछन्।
२६ औं पटक विश्वको अग्लो शिखर चढेर कीर्तिमान राखेका नेपाली ‘माउन्टेन गाइड’ हुन् ५२ वर्षे कामिरिता शेर्पा।
सन् १९९२ मा २२ वर्षको उमेरमा हिमालको पेशामा छिरेका थिए। २४ वर्षमा उनले पहिलो पटक सगरमाथामामा पाईला टेके । त्यस्तै सन् २००९,२०१०,२०१२ र २०१३ मा रूट खोल्ने टोली (रोप फिक्सिङ) मा सहभागी भएका उनले एकै सिजनमा दुई–दुई पटक सम्म सगरमाथाको शिरमा पुगेका थिए। सन् २०१८, २०१९, २०२१ मा उनले आफ्नै रेकर्ड तोडेका थिए।
यो सिजनमा विभिन्न ३९ टोलीका कम्तीमा ३१६ जनाले सगरमाथा आरोहणको साथै ११२ जनाले ल्होत्से हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।