म्याग्दी। म्याग्दी उद्योग वाणिज्य संघको आयोजना र नेपाल मगर संघ (म्याग्दी)को सह–आयोजनामा बेनी बजारमा आठौं म्याग्दी महोत्सव जारी छ। कला, संस्कृति, पर्यटन र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा दिनहुँमा मौलिक कार्यक्रमहरु भइरहेका छन्।
मौलिकता झल्काउने पुर्ख्याैली नाच, भजन, रत्यौली तथा दोहोरी प्रतियोगिताहरुसँगै स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुको बेजोड प्रस्तुति दिइरहेका छन्। त्यस्तै महोत्सवमा स्थानीय उत्पादन, खेलकुद प्रतियोगिताहरु, पर्यटकीय गन्तव्य चिनाउने सामाग्रीहरु अवलोकनमा राखिएको छ।
मगर समुदायको नयाँ वर्षको रुपमा लिइने माघे संक्रान्तिका कार्यक्रमहरुलाई समेत समावेश गरेर आयोजना गरिएको महोत्सवमा दैनिक हजारौं मानिस सहभागी हुने गरेका छन्।
पुस २८ गते नेपाली काँग्रेसका सभपाति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको महोत्सव माघ ८ गतेसम्म चल्नेछ।
प्राकृति, सांस्कृति, धार्मिक र पर्यटकीय हिसाबले सम्पन्न म्याग्दीको विकासका लागि यो महोत्सवले टेवा पुर्याउने विश्वास गरिएको छ। त्यसो त महोत्सवको परिकल्पना पनि वि.सं. २०६० मा स्थानीय कला, संस्कृति तथा उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले गरिएको थियो। तर, अब भने यो महोत्सव सञ्चालनको दायार बढ्दै गएको छ। यसै सन्दर्भमा आयोजक तथा व्यवसायीहरुले महोत्सवबारे गरेका टिप्पणी यहाँ प्रस्तुत छ:
सुविन श्रेष्ठ (अध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ)
म्याग्दी जिल्लाका सबै सम्भावनाहरुलाई उजागर गर्ने हिसाबले आठौं म्याग्दी महोत्सव सञ्चालन गरेका छाैं। यो महोत्सवमा म्याग्दीका कला सस्कृतिहरुलाई प्राथमिकतामा राखेर प्रतिस्पर्धाहरु पनि सञ्चालन गरिरहेका छौं। विभिन्न जात जातिका परम्परा नयाँ पुस्तामा हस्तान्तरण होस् भन्ने उद्देश्यले पुर्ख्याैली नाच प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता आयोजना गरेका छौं। खेलकुदको माध्यमबाट खेलाडीहरुलाई प्रतियोगितामा अवसर पनि प्रदान गरेका छौं। म्याग्दीका स्थानीय उत्पादनहरुलाई प्रवर्धन गर्नका लागि र बिक्रीका लागि म्याग्दी विभिन्न पालिकाहरुलाई फ्रि स्टल उपलब्ध गराएका छौं।
म्याग्दी जिल्ला प्राकृतिक स्रोतले धनी जिल्ला हो। तर, धनी भएता पनि त्यो अनुसारको उपलब्धि हासिल गर्न सकेको अवस्था छैन। त्यो भएको कारणले हामीले यो महोत्सवबाट म्याग्दीका समग्र सम्भावनाहरुलाई उजागर गर्दै निजी क्षेत्र र विदेशका रहेका लगानीकर्तालाई आव्हान गर्नका लागि पनि यो महोत्सव आयोजना गरेका हौं।
राजेश शाक्य (वरिष्ठ उपाध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ)
हामी म्याग्दी महोत्सवको आठौं संस्करणमा छौं। यो महोत्सव सुरुवात गर्नुको एउटै उद्देश्य म्याग्दी जिल्लामा रहेका कला संस्कृति, जात जाति, भाषा, खेलकुद र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नु हाे। यही अन्तर्गत २०६० सालदेखि सुरु गरेको महोत्सव आज विभिन्न संस्करण गरेर आठौं संस्करणमा आएका छौं। यो आठौं संस्करणमा म्याग्दी जिल्लाका कला संस्कृति, जात जाति, भाषा, स्थानीय उत्पादन र पर्यटकीय गन्तव्य पहिचान गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुलाई बोलाएर जानकारी गराएका छौं। यस आठौं महोत्सवमा पाल्नुहुनका लागि सबैमा हार्दिक अनुरोध गर्दछौं।
बेलबहादुर कटुवाल (निवर्तमान अध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ)
म्याग्दी उद्योग वाणिज्य संघले २०५८/०५९मा मेलाको रुपमा सुरु गरेकाे थियाे। त्यसपछि २०६० मा महोत्सवको रुपमा मनाइरहेका छौं। यो महोत्सव गर्नुको मुख्य उद्देश्य लोपउन्मुख माघे संक्रान्ति मेलालाई जगाउनुका साथै निजी क्षेत्रले गर्नुपर्ने व्यवसाय प्रवर्धन गर्ने, पर्यटनका सम्भावनालाई उजागर गर्ने, लुकेर रहेका कला र संस्कृतिको उजाग गर्ने, खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने तथा नेपालमा रहेका उत्पादनलाई यहाँ लिएर प्रदर्शन गर्ने र शुलभ रुपमा उपलब्ध गराउने थियो। सुरु सुरुमा यहाँका मानिसले स्वीकारेको अवस्था थिएन तर पछिल्लो समयमा राम्र भएको छ।
हामीले सुरु गरेपछि यहाँको उत्पादनलाई प्रवर्धन यर्यौं। सुरु सुरुमा दिनमा म्याग्दीका सुन्तला, बदाम तथा कृषिका उत्पादनहरु प्रवर्धन गर्दै जाँदा अहिले व्यवसायिक रुपमा सुन्तला खेतीमा सफल भएका छौं। अब प्रचारप्रसार गर्नुपर्ने अवस्था रहेको छैन।
म्याग्दीमा हामीले ठुला उद्योग सञ्चालन गर्न सक्दैनौं हामीले गर्न सक्ने भनेको पर्यटन प्रवर्धन हो। पर्यटन प्रवर्धन गर्नका लागि महोत्सव गरेका हौं।
प्रमोद श्रेष्ठ (पूर्वअध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ)
वि.सं. २०६० सालबाट म्याग्दी महोत्सव सुरुवात गरेका थियौं। परापूर्वकालदेखि चल्दै आएको माघे संक्रान्ति मेलालाई जर्गेना गर्नु र द्धन्द्धबाट प्रभावित व्यवसायलाई प्रवर्धन गर्नु त्यो बेलाको उद्देश्य थियो। त्यसमा हामी पूर्णरुपमा सफल भएको महसुस गरेका छौं।
आठौं महोत्सव चलिरहँदा यहाँको कृषि, उद्योग, व्यापार, जलविद्युतदेखि हरेक कुरा उजार गरिसकेको अवस्था छ। अब यसलाई उत्पादनसँग जोडेर स्वदेश तथा विदेशमा निर्यात गर्ने उद्देश्यले अगाडि बढ्दै छौं।
कुवीरकुमार श्रेष्ठ (पूर्वअध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ)
म्याग्दीमा पहिला विभिन्न व्यवसाय गरेर बस्नेहरुले माघे संक्रान्ति मेला मनाउने गरेका थिए। र, हामी म्याग्दी उद्योग वाणिज्य संघ सक्रिय भइसकेपछि २०६०बाट महोत्सव गर्न सुरु गरेको हो।
म्याग्दी महोत्सवका कारणले हाम्रो स्थानीय उत्पादनको प्रचारप्रसार, बिक्रीलगायत विभिन्न कुराहरु गरेको छ। अर्काे कुरा म्याग्दीमा भएका धार्मिक र पर्यटकीस्थलहरुको प्रचारप्रसार गर्ने काम गरेको छ।
अम्बिका श्रेष्ठ (सभापति, महिला उद्यम विकास समिति)
हामीले म्याग्दीमा दिदी–बहिनीहरुले बनाएका हस्तकलाका सामानहरु प्रदर्शनीमा राखेका छौं। हामीसँग ढाकाबाट बनेका सल, साडी, झोला, टोपीहरुलगायत सामानहरु उपलब्ध छन्। यी सामानहरु विशेषगरी बाहिरबाट आउने पाहुनाहरुले असाध्य मन पराउनु भएको छ। छिमिकी जिल्लाका महिलाहरुले ‘तपाईंहरु असाध्य राम्रो सामान बनाउनुहुन्छ, हामीलाई पनि सिकाउनु पर्यो, सुझाव सल्लाह दिनु पर्यो’ भन्नु हुन्छ।
भरत पुन (अध्यक्ष, अन्नपूर्ण गाउँपालिका)
यो महोत्सव म्याग्दी जिल्लाको क्षेत्र पर्यटन, खेलकुद, कला, संस्कृति, कृषि उत्पादनदेखि यहाँको चौतर्फीका विकास गर्नका लागि आयोजना भएको हो। देशका विभिन्न ठाउँमा अतिथिहरु आउनु भएको छ। यसले म्याग्दीका कला, संस्कृति र उत्पादन सबैतिर परिचित हुने विश्वास लिएको छ।