काठमाडाैं। काठमाडौँ महानगरपालिका वडा नं. १५ले आउँदो फागुन १० देखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने भएको छ। वडाले स्थानीय व्यक्ति, समुदाय, संघसंस्था र साझेदारहरूसँगको सहकार्यमा धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो।
वडाध्यक्ष ईश्वरमान डंगोलका अनुसार महोत्सवले वडाको प्राचीन सम्पदा र संस्कृति उजागर गर्न सहयोग पुर्याउनेछ। ‘वडामा रहेका विविधतायुक्त मूर्त र अमूर्त सम्पदाको प्रवर्धन गर्दै पहिचान र समृद्धि कायम गर्न महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने।
महोत्सव भुइँखेल चौरमा आयोजना हुनेछ भने भगवानपाउको धर्मचक्र पार्कमा विपद् व्यवस्थापन, खोज उद्धार र पुनःस्थापनासम्बन्धी प्रदर्शनी हुनेछ। महोत्सवमा कौसी खेतीका उत्पादन, ऊन र धागोबाट बनेका सामग्री तथा स्थानीय तरकारी र फलफूल प्रदर्शन गरिने कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनले जानकारी दिइन।
पूर्वमन्त्री जीवनराम श्रेष्ठले महोत्सवले स्वयम्भू क्षेत्रको पर्यटन प्रवर्धनमा योगदान गर्ने बताउँदै आगन्तुकलाई फरक अनुभव दिने कार्यक्रमको आवश्यकतामा जोड दिए। ‘कथा बनाउने र सुनाउने कला (स्टोरी मेकिङ र स्टोरी टेलिङ) पर्यटनका लागि महत्त्वपूर्ण छ,’ उनले भने।
छलफलमा सहभागी वक्ताहरूले स्वयम्भूको प्रवर्धनमा कमी भएको उल्लेख गर्दै होम स्टे र स्थानीय उत्पादनलाई प्राथमिकता दिने कार्यक्रम तर्जुमा गर्न सुझाव दिएका छन्।
स्वयम्भू क्षेत्रका प्रमुख सांस्कृतिक गन्तव्यहरूमा महाचैत्य, शोभा भगवती मन्दिर, विजेश्वरी मन्दिर, गीता मन्दिर तथा शंखधर साख्वाःसँग सम्बन्धित लखतीर्थ समावेश छन्। महोत्सवले यी सम्पदाहरूलाई पर्यटकीय दृष्टिकोणले प्रबर्द्धन गर्ने लक्ष्य लिएको छ।
वडामा नेवार समुदायको बाहुल्यता रहेको भए पनि आर्य, तामाङ, गुरुङ, मगर लगायतका जातजातिको मिश्रित बसोबास छ। महोत्सवले स्थानीयस्तरमा आर्थिक क्रियाकलाप बढाउँदै पर्यटन प्रवर्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।