भिडभाड र भागदौड, अस्तव्यस्त र धुलोको शहरका रुपमा खराब परिचय बनाएको काठमाडौँ शहर अहिले सुन्दर बनेको छ, कम्तिमा केही हप्ताका लागि । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरु अहिले बैजनी–नीलो रंगका फूलहरुले ढाकिएका छन् ।
दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदबारसहितका क्षेत्रमा ठूला रुखहरु बैजनी–नीलो भएका छन् । रुकमा पात छैनन् भने पनि हुन्छ, छन् त केवल फूलहरु मात्रै । बैजनीमा नीलो रंग मिसिएपछि बन्ने फरक नीलो रंग वा फरक बैजनी रंगको फूलले मौसम नै रंगिन बनाएको छ । रुखबाट झरेका फूलहरुले वरपरको बाटो पनि रंगिन बनाएका छन् ।
धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । तर यो फूलको असली नाम ज्याकारान्डा हो । विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फूल्छन्। यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ ।
अहिले काठमाडौँ आसपासमा फूलेको यो फूल ज्याकारान्डा मिमोसिफोलिया प्रजातिको हो । यसको पात र शिरिषको फूलको पात उस्ताउस्तै भएकोले गर्दा यसलाई नीलो शिशिष पनि भनिन्छ । तर यिनीहरुमा समानान्तर देखिने भनेको पात मात्रै हुन् । यसलाई रैथाने भन्दा पनि आगन्तुक अर्थात पाहुना फूल भन्ने गरिन्छ ।
यो फूल मध्य तथा दक्षिण अमेरिकाबाट आएको विज्ञले बताएका छन् । दक्षिण अमेरिकाबाट भारतसम्म आएको यो फूल त्यहाँ काम गर्ने विशेषतः लाहुरेहरुबाट नेपाल आएको मानिन्छ ।
जे होस्, अहिले काठमाडौँ उत्पत्यका बैजानी–नीलो वा नीलो–बैजनी रंगको फूलले ढाकिएर सुन्दर भएको छ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू- न्यूजकारखाना