काठमाडौं। विश्वको सर्वाधिक प्रभावशाली र विश्वसनीय यात्रा प्लेटफर्म ट्रिप एडभाइजरले सन् २०२५ का लागि काठमाडौंलाई विश्वको उत्कृष्ट ‘सोलो ट्राभल’ गन्तव्यको दोस्रो स्थानमा सूचीकृत गरेको छ। दक्षिण कोरियाको आधुनिक राजधानी सियोलपछि नेपालको सांस्कृतिक राजधानी काठमाडौंले यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो।
ट्रिप एडभाइजरको विश्लेषण अनुसार काठमाडौंको बहुआयामिक पर्यटकीय आकर्षणहरूले एक्लै यात्रा गर्न रुचाउने पर्यटकहरूलाई विशेष रूपमा आकर्षित गर्ने गरेको छ। विशेषगरी यहाँको युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत प्राचीन दरबार क्षेत्रहरू, जीवन्त सांस्कृतिक सम्पदाहरू, आकर्षक हिमाली दृश्यावलोकन, साहसिक ट्रेकिङ मार्गहरू र परम्परागत नेपाली जीवनशैलीको अनुभव प्रमुख आकर्षणको रूपमा रहेका छन्।
यसैगरी ट्रिपएडभाइजरले सार्वजनिक गरेको विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यहरूको सूचीमा पनि काठमाडौंले २१ औं स्थान हासिल गरेको छ। यो उपलब्धिले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा बढ्दो आकर्षण र विश्वसनीयतालाई प्रतिबिम्बित गर्दछ।
‘विश्वप्रसिद्ध यात्रा प्लेटफर्महरूबाट प्राप्त यस्ता मान्यताले नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने छ,’ नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने। जर्मनीमा आयोजना हुन लागेको प्रतिष्ठित सिएमटी ट्राभल फेयरमा सहभागी हुने जर्मनी पुगेका उनले यी उपलब्धिहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गरिने जानकारी दिए।
विशेष गरी अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले पनि सन् २०२५ का लागि विश्वका अवश्य भ्रमण गर्नुपर्ने ५२ गन्तव्यहरूको सूचीमा नेपालको लुम्बिनीलाई नवौं स्थानमा राखेर नेपालको पर्यटन क्षेत्रको महत्वलाई थप पुष्टि गरेको छ। बुद्धको जन्मस्थल लुम्बिनीको यो मान्यताले आध्यात्मिक पर्यटनको क्षेत्रमा नेपालको विशिष्ट स्थानलाई उजागर गरेको छ।
याे पनि: सन् २०२५मा घुम्न लायक विश्वका ५२ गन्तव्य: लुम्बिनी नवौं स्थानमा
नेपाल ट्राभल एण्ड टुर्स एसोसिएसनका अध्यक्ष कुमारमणि थपलियाले यस्ता अन्तर्राष्ट्रिय मान्यताहरूले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। ‘पछिल्लो समय अमेरिकी पर्यटकहरूको संख्यामा भएको उल्लेख्य वृद्धिमा यस्ता अन्तर्राष्ट्रिय सूचीहरूको महत्वपूर्ण भूमिका रहेको छ,’ उनले भने।
तथापि, थपलियाले नेपालको पर्यटन प्रवद्र्धनका लागि थप आधुनिक र प्रभावकारी रणनीतिहरूको आवश्यकता रहेको पनि औंल्याए। ‘हामीले अझै पनि २० वर्ष पुराना मार्केटिङ उपकरणहरूको प्रयोग गरिरहेका छौं। यो पर्याप्त छैन। सरकारी र निजी क्षेत्रको सहकार्यमा प्रवद्र्धन र लक्षित बजार रणनीतिहरू विकास गर्नुपर्ने आवश्यकता छ,’ उनले थपे।
पर्यटन विज्ञहरूका अनुसार यी अन्तर्राष्ट्रिय मान्यताहरूले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानमा महत्वपूर्ण योगदान पुर्याउने छन्। विशेषगरी कोभिड–१९ महामारीपछि विश्व पर्यटन बजारमा देखिएको नयाँ प्रवृत्तिअनुरूप एक्ल यात्रीहरूको संख्या बढ्दो क्रममा रहेको छ। काठमाडौंको यो मान्यताले नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।