पचासको दशकमा नेपाली साहित्य सामाजिक सञ्जालको दुनियाँबाट निकै टाढा थियो। सर्जकले लेखेका कुनै पनि सिर्जना वाचन गर्न साहित्यिक कार्यक्रमको पर्खाइमा बस्नु पथ्र्यो। कि मधुपर्क, गरिमा, मुना, गोरखापत्र जस्ता पत्रिकामा पठाउनु पथ्र्यो। हुलाकबाट पठाएका रचना छापिन पनि महिनौं लाग्थ्यो।
त्यो समयमा पोखरेली साहित्यिक परिवेशमा आफ्नै रचनाको शक्तिले निकै चर्चित थिइन्, कवि केशु शर्मा। पोखराका साहित्यिक कार्यक्रमहरूमा चौध हरफे गीत सुनाएर सबैको मन जित्ने गर्थिन उनी। गीत र कवितामा उनको विशेष रुचि थियो। उनका मुक्तक र गजलहरू पनि निकै चर्चित थिए। समकालीन साथीहरूका बिचमा आफूलाई अब्बल कविका रूपमा चिनाउन सफल थिइन् उनी।
करिब डेढ दशक स्थापित भएर साहित्यिक माहोलबाट क्रमशः ओझेल पर्दै गइन् उनी। बाँकी डेढ दशक बाहिर सक्रिय नदेखिए पनि पनि भित्रभित्र सिर्जनामा रमाइरहेकी थिइन् उनी। फाट्टफुट्ट साहित्यिक कार्यक्रममा भने पुग्ने गर्थिन्।
कवितालाई संस्कृतिसँग जोड्दै ‘पुछारसिटे अभियान’ पोखराले करिब एक दशक देखि ‘घिउ, तरुल र चाकुसँग कविता’ कार्यक्रम गर्दै आएको छ। प्रतिभा भएर पनि ओझेलमा परेकालाई यस अभियानले मञ्च प्रदान गर्दै आएको छ।
आज माघ एक गते माघे संक्रान्तिका दिन यही अभियानले पोखरामा कवि केशु शर्माको एकल कविता वाचन गरायो। पोखराको चिप्लेढुङ्गास्थित दि भिलेज रेस्टुरेन्टमा घिउ, चाकु, तरुल, सखरखण्ड, खुदो, तिलको लड्डु, चिउरा आदि खानेकुरा खाएपछि हामी हलभित्र पस्यौं। अगाडि मञ्चमा बसेर केशुले कविता सुनाउन सुरु गरिन्। उनको प्रस्तुतिले हामी सबैलाई मन्त्रमुग्ध बनायो।
लामो समयदेखि पोखराकै मदरल्यान्ड माध्यमिक विद्यालयमा शिक्षण पेसामा आवद्ध शर्मा कुशल ब्यवस्थापक समेत हुन्। सहकर्मीहरूका माझ उनी निकै लोकप्रिय छिन्। विद्यार्थीलाई पढाउने क्रममा उनले थुप्रै शैक्षिक गीत समेत सिर्जना गरेकी छिन्।
उनका कवितामा विषयवस्तुका विभिन्न आयम देख्न पाइन्छ। सहरभित्रको गाउँले जनजीवन पनि उनको कविताको मुख्य स्वर हो। कोमल शब्दमा जीवनका अनेक पाटाहरू उनका कवितामा देख्न सकिन्छ। सरल एवम् मिठासपूर्ण शब्दमा उनी समानताका स्वरहरू उराल्छिन्।
प्रभावशाली कविता लेख्ने केशुको साहित्यिक सक्रियता बढ्नै पर्छ। मलाई उनको कृति प्रकाशन भएको हेर्ने रहर पनि छ। उनलाई धेरैधेरै बधाई एवम् शुभकामना !
यसरी पुछारिसेटे अभियानले प्रतिभाहरूको सम्मान गर्दै आएको छ। प्रकट पगेनी ‘शिव’बाट सुरु भएको अभियान अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’, डा. वसन्त गौतम, डा.ईश्वरमणि अधिकारी हुँदै केशु शर्मासम्म आइपुगेको हो।
अब पढौं, केशु शर्माले आज सुनाएको एउटा कविता:
कति कुरा भन्नै मन लाग्दैन
तिम्रो कुराले मुटुमा छुरा हान्दा
मेरो मन भरि पनि तिमीलाई
राम्रै छेड हान्ने कुराका काँढाहरू उम्रन्छ्न्
जवाफ फर्काऔं भने कुरैकुराको काँढाले
आफैलाई समेत कोतर्न थाल्छन्
मैले रक्त धारा बगाए पनि
या
अश्रुधारा बगाए पनि
तिमीलाई कत्ति छुँदैन
त्यसैले
कत्ति कुरा भन्नै मन लाग्दैन ।
मैले केही भनिरहँदा
तिमीमा सुन्ने उत्सुकता देख्दिनँ
न सुन्छौ, न बुझ्छौ
न ! ए भन्छौ,
न कठै भन्छ
किन बगाऔं अमूल्य समय व्यर्थै
त्यसैले कति कुरा भन्नै मन लाग्दैन।
अलिकति कुरै नगरे अधेरमुखे भन्छौ
हाँसोको भेल सँगै कुरो बगिहाल्यो भने
डेउरो उत्तरको छाल हुत्याउँछौ
मेरा सिधा कुरालाई आसी जस्तै बंगाएपछि
चरक्क चिरिन्छ छाती
त्यसैले कति कुरा भन्नै मन लाग्दैन ।
कुराको धार लगाई रहँदा
कुरै कुराको छुराले रोप्दो र’छ
कतिलाई वल्लो घाट र पल्लो तिर बनाइदिन्छ
कति कुराले हाँसोको फोहोरा त
कतिले आँसुको वर्षात गराइदिन्छ
कुरैकुराको सगरमाथामा रौसिँदा
कतै आफैलाई फसाइदिन्छ
कतै आफैलाई खसाइदिन्छ
त्यसैले कति कुरा भन्नै मन लाग्दैन ।
जति कुरा काट्यो उति पलाउँछन्
कुराका पालुवाहरू
विना मलजल, विना सुसार मुसार
युगौयुग बाँचिरहन्छन् कुराका जराहरू
त्यही जराले कतिलाई नंगाउँछ
कतिलाई बंग्याउँछ
कतिलाई इख्याउँछ
त्यसैले त कति कुरा भन्नै मन लाग्दैन।
जजसलाई भन्न मन लाग्छ
ऊ आफ्नै आकाश क्षितिजको
दुनियाँमा हराइरहेछ
मैले भन्न खोज्दा
उसलाई सुन्ने फुर्सद छैन
ऊ सुन्न तम्तयार हुँदा
मलाई भन्ने फुर्सद छैन
त्यसैले त कति कुरा भन्नै मन लाग्दैन।
भन्नै मन नलागी नलागी
जिन्दगीले आधा बढी नेटो काट्यो
बिना कसै सँगको फजुल कुरा
सारै रमाइला हुन्छन् दिनहरू
सारै घमाइला हुन्छन् छिनहरू
अनि
मिठा मिठा हुन्छन् निदहरू
त्यसैले
कति कुरा नभनेकै जाती
चुपचाप चुपचाप काममा बगेकै जाती
हो कति कुरा नभनेकै जाती
त्यसैले .......