तकसेरा खाम मगर संस्कृतिको मूल थलो हो। यो पर्यटकीय गाउँ पनि हो। पूर्वी रुकुम जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा पर्दछन्, दुईटा गाउँ तक र सेरा। बोलिचालिमा एकै पटक तकसेरा भनिन्छ। उत्तरगंगा नदीको वारि र पारि छन् तक र सेरा गाउँ।
तक गाउँका तकाले र सेरा गाउँका शेरालहरू मिहिनेती, सहयोगी र फरासिला छन्। वि.सं. २०७२ बाट रुकुमको पूर्व र पश्चिम दुई भाग भएर बनेको यो जिल्ला नेपालका २२ हिमाली जिल्लामध्ये एक हो। यसको पूर्वमा पूर्वमा बागलुङ र पश्चिममा पश्चिम रुकुम छन् भने उत्तरमा डोल्पा तथा ढोरपाटन र दक्षिणमा रोल्पा।
रुकुम पूर्वको जनसंख्या ५३ हजार छ। पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरका अनुसार गाउँपालिकाको जनसंख्या करिब २० हजार छ। नेपालकै धेरै वडा भएको गाउँपालिका पुथा उत्तरगंगामा १४ वडा छन्। यहाँ ८० प्रतिशतभन्दा बढी मगरको जातिको बसोबास छ ।
तकसेरा (२२,०० मिटर) गाउँको जनसंख्या करिब ३७ सय छ भने ९०२ घरधुरी छन्। बसाइँसराइले अहिले झण्डै आधा घर खाली छन्। यी घरधुरी वा बस्ती पनि ६ भिन्न भिन्न प्रकारका छन्। यहाँ गाउँअनुसारकै ३ प्रकारका फरक भाषा छन्, तर मुख्य भाषा खाम हो।
अहिलेको शिक्षा, विकास, बसाइँसराइ र पर्यटन प्रवर्द्धनले नयाँ पुस्तामा आयातित संस्कृतिको प्रभाव परेको देखिन्छ।
पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराजका अनुसार समग्र नेपालकै गाउँघरझैं यहाँका गाउँलेको बसाइँसराइ तथा वैदेशिक यात्राले पनि जनसंख्या र विकासे योजनामा असर गरेको छ। तर पनि पूर्व-पश्चिम लोकमार्ग अन्तर्गतको काँक्रीबाट तकसेरा जोड्ने मोटरेबल पक्की सडक शहिदमार्ग अन्तर्गतको योजनामा पार्ने बहुवर्षे योजनाका विषयमा उनले बताए।
तकसेरा एक मनोरम प्राकृतिक सुन्दरताको बिच गुजुमुज्ज परेको यो गाउँ प्रकृतिको सुन्दर उपहार हो। परम्परागत संस्कृति र संस्कारले गाउँ समृद्ध छ। यहाँका सबै बासिन्दा खाम भाषा बोल्छन्।
यहाँ एक घरको आँगन अर्को घरको छाना हो भने छानामा ढोक्रा राखिएको हुन्छ। घरमाथिको ढोक्रामा मकै भण्डारण गरिन्छ भने फर्सी पनि राखिन्छ। पुथा उत्तरगंगा गाउँपालिका– १० तकका वडा अध्यक्ष भरत बुढामगरका अनुसार तकसेराका बासिन्दाको मुख्य पर्वहरूमा झाँक्री, भूमे पूजा र अन्य नेपाली पर्व हुन्। खाम संस्कृति, परम्परागत घर, इतिहास र चाडपर्व यहाँका आकर्षण हुन्।
उनीहरू धुमधामसँग भूमे पूजा मनाउँछन्। प्रकृतिको पूजा गर्छन्। नाचगान गर्छन्। खानपिन गर्छन्। रमाउँछन्। भेँडाको साँड काटेर मासु बाँडिनछ। जसले त्यो मासु खाँदैन त्यो त्यस गाउँको बासिन्दा हुन सक्दैन भन्ने मान्यता छ।
तकसेरा र वरपरका बस्ती तथा बासिन्दाको रहनसहन, भाषा र पोशाक तथा जीवनपद्धति अध्ययनको विषय हो। माओवादीको १० वर्षे जनयुद्धमा अति प्रभावित यो क्षेत्रमा त्यतिबेलाको द्धन्दका प्रभावबारे समेत अध्ययन गर्न सकिन्छ।
पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट हो, जुन पोखराबाट २४१ किलोमिटर दूरीमा मध्यपहाडी लोकमार्गमा पर्दछ। तकसेरा जान भने त्यही लोकमार्गको लुकुमबाट २० किलोमिटर उत्तरमा कच्चीबाटो जानुपर्दछ। बागलुङ बजारबाट लुकुमसम्म मध्यपहाडी लोकमार्गको १४१ किलोमिटरपछि काँक्रीबजार पुुगिन्छ। त्यसपछि रुकुमकोट जाने लोकमार्गलाई छाडेर कच्ची सडक उकालो र ओरालो हुँदै तकसेरा पुगिन्छ।
यो साँघुरो र भिरालो २० किलोमिटर सडकलाई स्तरोन्नती गर्ने काम गरिहाल्नु पर्दछ। स्थानीय गाउँपालिकाले भने तकसेरामा पर्यटक सूचना केन्द्र र रेकर्ड राख्ने योजना बनाएको छ।
कतिपय मानिस बागलुङको बुर्तिबाङसम्म विभिन्न सवारी साधनमा गएर त्यहाँबाट तकसेरा चल्ने जिपमा जाने गदर्छन्। तकसेरामा केही होटल, पाहुनाघर र होमस्टे छन्। त्यहाँ आत्मीय वातावरण पाइन्छ। गाउँले सहयोगी र मायालु छन्।
तकसेरा सामुदायिक होमस्टे सञ्चालक कमला रोकाका अनुसार होमस्टेमा सस्तोमा खाना र बास पाइन्छ। साथमा मिठो आत्मियता पनि।
तकसेरालाई नमुना पर्यटन गन्तव्य बनाउने अभियानमा गाउँले जुटेका छन्। दिनदिनै पर्यटक पनि बढ्दैछन्। स्थानीय होटल सञ्चालक देवा रोका मगर भन्छन्, ‘यहाँका होटल तथा होमस्टेमा सिजनअनुसार चाप हुन्छ। असार १ गते यहा लाग्ने भूमे पूजामा बसाइँ सरेर बाहिर गएका गाउँले र अन्य पाहुना आउँदा गाउँ भरिभराउ हुन्छ।’
साँच्चै, घुम्नलायक छ तकसेरा। तपाईं पनि घुम्नुस् है !