दिनभर विद्यालयमा अङ्ग्रेजी पढाउने शिक्षक, जो बिहान–बेलुका सारङ्गीसँग रमाउँछन्। आफैं सारङ्गी बनाउँछन् र बजाउँछन्। शिक्षण र संगीतको यो अनौठो मेल बोकेका देवेन्द्र (दीपक) काफ्ले सारङ्गीको धुनबाट नयाँ पुस्तालाई लोक सङ्गीतको महत्व बुझाउँदै छन्।
हालको महालक्ष्मी नगरपालिका वडा नं ९ धनकुटामा जन्मिएका दीपक काफ्लेको सङ्गीत यात्रा साह्रै रोचक छ। प्राथमिक तहका शिक्षक बुवा र गृहिणी आमाको काखमा हुर्केका दिपकले सङ्गीतको पहिलो पाठ बाँसुरीबाट सिके। तीन–चार वर्षको उमेरमा बुवाले दिएको बाँसुरी र पछि काकाले बनाइदिएको मालिङ्गाको बाँसुरीले उनको मनमा सङ्गीतको बीउ रोप्यो।
कक्षा ११ मा पढ्दाको त्यो क्षण उनको जीवनको महत्वपूर्ण मोड बन्यो। जति बेला उनी विद्यार्थी कार्यक्रममा सहभागी हुन धनकुटा पुगे। त्यहाँ, संविधानसभाका गोपाल गोलेको सारङ्गी वादनले उनलाई मन्त्रमुग्ध बनायो। तर सारङ्गी न किन्न सकिने अवस्था थियो, न त कतैबाट सजिलै पाइन्थ्यो।
जितपुरमा मामाघरमा बसेर पढ्दै गर्दा भोजपुरबाट आएका एक गन्धर्वसँगको भेटले उनको जीवनमा नयाँ मोड ल्यायो। गन्धर्वको सारङ्गी वादन नियालेर उनले सारङ्गी बनाउने सपना देख्न थाले। मामा लिलाराम सुवेदीले नमूनाको रूपमा एउटा सारङ्गी खोजेर ल्याइदिए। त्यसैलाई हेरेर उनले पहिलो पटक सारङ्गी बनाउने प्रयास गरे, र सफल भए।
२०६२ सालमा पोखरामा खिम बहादुर गायकसँग औपचारिक ज्ञान लिए। पछि काठमाडौंमा अध्ययनको क्रममा रहेको बेला श्याम नेपालीसँग थप ज्ञान आर्जन गरे। दोलखामा शिक्षण कार्यको सुरुवात गरेका उनले २०७० सालमा धनकुटाको मारेककटहरेमा रहेको शारदा माविमा प्लस टू अङ्ग्रेजी विषयको शिक्षकको रूपमा करिब १० वर्ष काम गरे। २०७९ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी हाल जनता मावि वराहक्षेत्रमा माध्यमिक तहमा अध्यापन गराइरहेका छन्।
आज दीपक काफ्ले विद्यालयमा अङ्ग्रेजी पढाउँछन्, तर उनको सारङ्गीसँगको प्रेम अझै उस्तै ताजा छ। एउटा सारङ्गी बनाउन उनलाई लगातार काम गर्दा १० दिन लाग्ने काफ्ले बताउँछन्। हालसम्म उनले २५–३० वटा सारङ्गीहरू बनाइसेका छन्। उनले बनाएका सारङ्गीहरू बजारमा बिक्रीका लागि होइन, उपहारका रूपमा बाँडिन्छन्। श्याम नेपालीलाई दिएको चापको सारङ्गी त उनको विशेष सिर्जना हो। बिहान–बेलुका र बिदाको समयमा उनी सारङ्गीसँग रमाउँछन्। विशेषगरी लोकगीत र आधुनिक गीतहरू मन पराउने दीपक परिवारका सदस्यहरूसँग बसेर सङ्गीतको माहोल बनाउँछन्। मौका मिलेसम्म सांगीतिक कार्यक्रमहरूमा सहभागी हुन्छन्।
उनी भन्छन् – ‘नयाँ पुस्तालाई विद्यालय तहमा अथवा संस्थागत प्रयासमा लोकसंगीतप्रति रुची जगाउन सकिन्छ। पाठ्यक्रममै समावेश गराएर अध्यापन गराउन सके अझ राम्रो हुन्छ।’