गोरखाको उत्तर-पूर्वमा रहेको 'गणेश कुण्ड र कालो पोखरी पदमार्ग' सांस्कृतिक, धार्मिक तथा प्राकृतिक रूपले भरिपूर्ण छ।
काठमाडौंदेखि करिब १९० किमी दूरिमा रहेको पदमार्ग गणेश हिमालको काखमा पर्छ।
हिमाली सौन्दर्य अवलोकनका लागि उत्कृष्ट यो पदमार्गमा विश्वका आठ हजार माथिका मनास्लु हिमालसहित डा. हर्क चुली, हिमचुली, बुद्ध हिमाल, पाङपोचे, चमर, गणेश हिमाल, पविल हिमल लगायत दर्जनौं हिमालको दर्शन गर्न सकिन्छ।
करिब १३ प्रजातिका गुँरास, गोब्रे सल्ला, धुपीलगायत बोटबिरुवा, यार्सागुम्बा, पदमचाल, कुड्की जस्ता जडिबुटीलगायत डाँफे, मुनाल, कालिज चराचुरूङंगी साथै धार्मिक पोखरी, मनमोहक झरानाले भरिपूर्ण यस ट्रेल पदयात्राको लागि अथाह सम्भावना बोकेको छ।
यो क्षेत्रलाई दुई वटा पदमार्गमा बाड्न सकिन्छ।
एउटा पदमार्ग केरौजाबाट माहुङ खर्क, लाम्ब्रा डाँडा, बुङमार्चेत खर्क, बिरिम डाँडा, मान्द्राचे, सेने काङ पास (४२३५मि), मेघाचेतहुदै गणेश कुण्ड। त्यहाँबाट मेघाचेत, सुग्पा ब्ले, रोङजा काङ, कालोपोखरीहुँदै रून्चेत।
दोस्रो दोभानबाट हुल्चोक हुँदै सूर्तिबारी, सेक्सुको पास, जुङतुर डाँडा, काइबुङ डाँडा, धामबाचेत खर्क, सुग्पा खर्क, हेचामबा खर्कहुँदै गणेश हिमाल बेसक्याम्प पुगिन्छ।
दुवै पदमार्गलाई एकैचोटी २ हप्तामा पदयात्रा गर्न सकिन्छ। छुट्टा छुट्टै गर्ने हो भने १-१ हप्तामा गर्न सकिन्छ ।
हालै धार्चे मनास्लु पर्यटन विकास समितिले टान पश्चिम क्षेत्रिय ट्रेकिङ एजेन्सिज एसोसियशन (टान) समन्वय तथा धार्चे गाउँपालिका वडा नं. १, २ र ६ को आर्थिक सहयोगमा सो क्षेत्रको पर्यटन सम्भाव्यता अध्ययन गरेको छ।
समितिका अध्यक्ष साने गुरूङको नेतृत्वमा ९ जनाको अध्ययन टोलीद्वारा वैशाख २ गते देखि १२ गतेसम्म गणेश हिमाल बेस क्याम्पसम्मको भर्खर १२ दिनको अध्ययन भ्रमणको पदयात्रा पुरा गरेका थिए।
हेर्नुहोस् तस्बिरहरू
गुरूङ माउन्टेन गाइड तथा पर्वतीय पथप्रदर्शक संघ नेपाल (मोगान) का अध्यक्ष हुन्।