काठमाडौं। माघे संक्रान्ति हामी मगर समुदायले भव्यरुपमा मनाउने गर्छौँ। हुन त यो पर्व नेपालका पूर्वदेखि पश्चिसम्म र हिमालदेखि पहाडसम्म बस्ने सबैले मनाउने गर्छन्। तर, हामी मगर र थारु समुदायको विशेष पर्व हो। यसलाई हामी नयाँ वर्षको रुपमा लिन्छौँ।
माघे संक्रान्तिको सन्दर्भमा,- रिडीबाट पश्चिम र रिडीबाट पूर्वमा केही फरक छ। माघे संक्रान्ति सबैले मान्ने भएपनि रिडी–गण्डकी पश्चिमका हाम्रा पूर्खाहरुले अठार मगरात भूगोल नामकरण गरेका छन्। त्यस्तै रिडीबाट पूर्वपट्टीको भूगोललाई बाह्र मगरात भूगोल नामकरण गरिएको छ। म यहाँ अठार मगरात भूगोलमा मनाइने माघे संक्रान्तिबारे बताउँदैछु।
रिडी–गण्डकी पश्चिमका हामीले पानीलाई ‘रि’ भन्छौं, भने पूर्वपट्टीका दाजु–भाइहरुले ‘डी’ भन्छन्। ‘रि’ र ‘डि’ मिलाएर रिडी भएको हो। मगर राजाहरुले प्रत्येक वर्ष माघे संक्रान्तिमा रिडीमा नुहाउने, चेलीहरु पुज्ने, मेला गर्ने तथा एकआपसमा दु:ख साट्ने गर्थे।
०००
वसन्त ऋतु सुरु भएसँगै भूमे पर्व मनाइन्छ। त्यसपछि साउने संक्रान्ति आउँछ। हामीले साउने संक्रान्तिलाई ‘राँखे’ संक्रान्ति भन्छौँ। ‘राँखे’ संक्रान्तिपछि ‘बाह्र भदौ’ हुन्छ। ‘बाह्र भदौ’लाई पुरुष बोलाउने पर्वको रुपमा लिइन्छ। ‘बाह्र भदौ’ सकेपछि हाम्रा पूर्खाहरु जडीबुटी टिप्न माथि वन जंगलमा जान्थे। वन जंगलमा गएकाहरु दसैं तिहार मनाउने गरी फर्किन्छन्। दसैं तिहार मनाएपछि वन जंगलबाट ल्याएको जडीबुटी बेच्न बजार जाने चलन छ। बजारमा जडीबुटी बेचेर घरका लागि नयाँ सामान किन्थे। बजार गएको मान्छे जसरी पनि माघे संक्रान्ति मनाउन आउनै पर्छ।
त्यस्तै मगर समुदायमा अनेकौँ नाचहरु हुन्छन्। ती नाचहरु देखाउन टाढा–टाढा जाने चलन छ। त्यसरी नाच देखाउन जहाँ पुगेपनि माघे संक्रान्ति मनाउन घर फर्किनै पर्छ भन्ने चलन छ।
पुस मसान्तको दिनबाट माघे संक्रान्ति सुरु हुन्छ। यो माइती, चेली र भाञ्जाको पर्व हो। यो चार दिनसम्म मनाइन्छ।
पुसको अन्तिम दिन वन जंगलमा गएर तरुल–कन्दमुलहरु खनेर ल्याउने, राँगा–सुँगुर काट्ने, रक्सी चढाउने र रोटी हाल्ने गरिन्छ। त्यसपछि पुस १ गते बिहान चेलीहरुले नुहाएर माइती पर्खिन्छन्। केटा मान्छेहरुले चेली पूज्न जाने र गच्छेअनुसार दान दक्षिणा दिने गर्छन्।
तिहारमा गाई नभएको मान्छे रुन्छ रे। किनभने, तिहारम पूज्न ऊसँग गाई हुँदैन। त्यस्तै माघे संक्रान्तिमा चेली नहुने मान्छे रुन्छ रे। तर, अहिले त अरु चेलीहरुलाई पूजा र सम्मान गर्ने चलन छ। त्यसदिन चेलीहरु गीत गाउँदै घर घरमा जान्छन्, अनि खानेकुरा र पैसा जम्मा गर्छन्। त्यसलाई हाम्रो खाम भाषामा ‘पाचिन्द्रा खेल्ने’ भनिन्छ।
चेलीको पूजा गरेपछि माइतीघको घरमा भाञ्जाहरु खिचडी खान आउँछन्। चेलीहरुलाई पुजेजस्तै आफ्ना ज्वाइँ, भेनाजु वा फुपाजुहरुलाई पुज्ने, खानेकुरा र दान दक्षिणा दिने चलन छ।
त्यसपछि २ र ३ गते माइती र भाञ्जा स्याँबु गाउँदै तारो हान्न जान्छन्।
‘पाचिन्द्रा’ खेलेर जम्मा गरेको पैसा र खानेकुराहरु जम्मा गरेर ३ गते पुतली पोलिन्छ। पुतली पोल्ने कुरा स्याँबो राजा र रानीको कथामा आउँछ। पुतली पोलेपछि स्याँबो राजा र रानीको किरिया गरिन्छ। किरिया गरेपछि ‘पाचिन्द्रा’ खेलेर जम्मा गरेको खाने कुरा सबैले बाँडेर खाइन्छ।
स्याँबो गाउँदै तारो (वाण) हानिन्छ। यो अरुले जस्तो धनुष लिएर वाण हानेको जस्तो होइन। हाम्रा पूर्खाहरुले स्याँबो गाउँदै गीतको लयमा तारो हान्ने चलन बसालेका छन्। ‘स्याँबो र राजा, स्याँबो र रानी बुर्काइदेऊ जवानी’ भनेर गीत गाएपछि बल्ल तारो हान्ने हो। तारो हान्नका लागि माइती र भाञ्जाहरुको टोपी राखिन्छ। जसको टोपीमा तारो खस्छ, त्यसको ग्रहदशा कमजोर रहेछ भन्ने मान्यता छ। ग्रहदशा बलियो हुनेको टोपीमा जति गरेपनि तारो खस्दैन भनिन्छ।
तारो खसेको (प्वाल परेको) टोपी लगाउने कुरा भएन। अब जसले हानेर प्वाल पारेको हुन्छ, त्यसले शीर गास्नुपर्छ अर्थात्, नयाँ टोपी वा पगरी लगाइदिनुपर्छ। नयाँ टोपी वा पगरी लगाएर सम्मान गर्दै ‘आइन्दा यस्तो नहोस, ग्रहदशा नलागोस्’भने कामना गरिन्छ।
टोपीमा निशाना लाग्ने र निशाना लगाउने दुवैलाई सम्मान गर्दै बोकेर घर लगिन्छ। घर लगेर गएपछि खानपान गर्ने फाँक नाच्ने गरिन्छ। अनि, माघे संक्रान्ति समापन हुन्छ।
०००
यी हाम्रा कला संस्कृति अमूर्त छन्। हाम्रा पूर्खाहरुले यी कला संस्कृति कहीँ कतैबाट चोरेर ल्याएको होइन। यी मानव जातिको उत्पत्तिसँगै आफ्नो भूगोलमा हाम्रो पूर्खाहरुले सिर्जना गरेका अमूर्त संस्कृति हुन्।
मलाई हाम्रो पुस्ता अलिकति भाग्यमानी हो जस्तो लाग्छ। पहिला यी कुराहरु गाउँमा मात्रै पुस्तान्तरण भएको थिए। कुनै बाटो, बिजुली, इन्टरनेट थिएन। अहिले सबै कुराहरु सहर केन्द्रित भएका छन्। हामी पनि जानि नजानि, सकिन नसकि भए पनि यस्ता परम्पराहरुलाई सहरमा ल्याएका छौं। सरकारले माघे संक्रान्तिलाई राष्ट्रिय पर्व घोषणा गरेको छ। र, माघे संक्रान्तिको दिन सार्वजनिक बिदा दिएको छ।
तर, अहिले भने चुनौतीहरु थपिएका छन्। हामी गाउँबाट सहर आयौँ, हाम्रा सन्तान सहरबाट युरोप अमेरिका पुगे। युरोप अमेरिका र यहाँ आकाश धर्तीको फरक छ। त्यहाँ यहाँको जस्तो परम्परा मनाउन बिदा दिने कुरा पनि हुँदैन। यसरी हाम्रा पुस्ताले यी संस्कार संस्कृतिलाई बिर्सने हुन कि भन्ने चिन्ता छ।
तर, पनि हामीले कोसिस गरिरहेका छौं। हाम्रा परम्पराहरुलाई दस्तावेजिकरण गर्ने काम गरेका छौं। युवा पुस्तालाई अगाडि सारेका छौँ। उनीहरुलाई कार्यक्रमहरुमा सरिक गराएका छौँ। त्यसैअनुरुप हरेक वर्ष काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति विशेष कार्यक्रमको आयोजना गर्छौ। यसपटक हामी ‘भूमे समाज काठमाडौँ’को तर्फबाट पनि तीन वटा नृत्य प्रस्तुत गर्दैछौँ, त्यसको तयारी भइरहेको छ। म सबै जनालाई पुस २९ र माघ १ गते टुँडिखेलमा आएर शुभकामना आदानप्रदान गर्न अनुरोध गर्दछु। (कुराकानीकाे सम्पादिन अंश)
प्रस्तुति: कमल प्रभात विक
फोटो/भिडियो : मनिष अर्याल