काठमाडौं। आगामी तीन दिनसम्म देशका उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
हाल पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको र आगामी सोमबारसम्म वर्षा र हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार साँझ सुदूपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
आइतबार दिउँसो देशभरिको मौसम साधारणतय बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार राति बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।