म्याग्देली हुनुमा हामी गौरव गर्छौं। के छैन हामीसँग? प्राकृतिक रुपमा हिमाल, खोलानाला, वन जंगल, जडीबुटी, तातोपानी कुण्ड आदि सम्पदा छन्। सांस्कृतिक हिसाबमा विभिन्न जातजातिको बसोबास छ। ऐतिहासिक महत्वका पनि धेरै सम्पदा छन्। चौबिसे राज्यकालका कोट लगायतका सम्पदा।
संसारको ७औं अग्लो हिमाल धौलागिरि (८,१६७ मिटर) हाम्रै जिल्लामा छ। मगर, छन्त्याल, गुरुङ, क्षेत्री, बाहुन, नेवार, दलित लागयतको साझा फूलबारी पनि हो म्याग्दी। आपसी सद्भाव, सहिष्णुता, मिहिनेत र सकारात्मक सोच हाम्रा विशेषता हुन्।
बेनी बजार
आज वैदेशिक रोजगारी, कृषि र पर्यटन आम्दानीको मुख्य माध्यम बनेको छ। म्याग्दीमा पर्यटकीय सम्भावना भएका अनेकौ ठाउँ छन्। ती ठाउँमा अत्यावश्यक पर्यटन पूर्वाधार, सडक, बिजुली, खानेपानी, होटल तथा लजको व्यवस्थापन गरेर राम्रो ब्रान्डिङ एवम् मार्केटिङ गर्न सके सबैतिर चहलपहल बढाउन सकिन्छ।
साहसिक पर्यटनका दृष्टिले पनि म्याग्दी अतुलनीय गन्तव्य हो। धौलागिरि बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प, गुर्जाखानी, खयरभारानी, पुनहिल, धौलागिरि सेन्चुरी, धौलागिरि आइसफल, करबाकेली इको पदमार्गलगायत सबै पदमार्गमा ग्वारग्वार्ती पर्यटक हिँडाउन सकिन्छ। साथै पर्वतारोहणमा पर्वतारोहीलाई लोभ्याउन आवश्यक छ।
खयर ताल
म्याग्दीमा आध्यात्मीक पर्यटन पनि फस्टाउन सक्छ। पर्यटकलाई डाँडापाखा र गाउँघरमा योग, ध्यान तथा साधना गराउन सकिन्छ। साथै यहाँका तातोपानी कुण्डमा नेचुरल थेरापीको अभ्यास भइरहेको छ। यसरी स्वास्थ्य पर्यटन म्याग्दीको नयाँ आयाम बन्न सक्छ।
म्याग्दीको सदरमुकाम बेनीबजार आफैंमा ऐतिहासिक थलो हो। ‘साल्ट ट्रेड रुट’ र पिलग्रिमेज रुटका रुपमा यसले सदियौं पहिलादेखि ख्याती कमाएको छ। त्यसो त बेनीबजार आफैंमा पनि पर्यटकीय प्रोडक्ट हो। यहाँ पुरातात्विक महत्वका देवलहरू छन्। भद्रिवम शिवालय, गलेश्वर, महारानीथान, पुलाश्रम आदि यसका उदाहरण हुन्। त्यसैले बेनीबजारको राम्रो प्रचारप्रसार आवश्यक छ।
करबाकेली थान
अब कुरा गरौं संस्कृतिको, यानिमायाँ, सालैजो, झ्याउरे भाका, पुख्र्यौली गीत, तिजे भाका, भजनचुड्का आदिको राम्रो ब्रान्डिङ गर्न सकेमा पर्यटक रमाउँछन्। हामीसँग पर्यटकलाई मन्त्रमुग्ध पार्ने रैथाने सङ्गीतको दुःख छैन। आवश्यकता छ त तिनको संरक्षण र ब्रान्डिङको।
हामीले आफ्नो माटोलाई चिनौं। पहिचान जोगाऔं। तन, मन र धनले आफ्ना सम्पदाको विकासमा समर्पित बनौं। हरेक म्याग्देलीको अनुहारमा पर्यटनको उज्यालो छाओस्।
मंगला फाँट
हामीले विगत बिर्सनु हुँदैन। आजसम्म म्याग्दीको पर्यटनलाई उठाउन योगदान पुर्याउने सबैप्रति आभार प्रकट गर्दछु।
आउनुहोस, स्वदेश तथा विदेशमा बसोबास गर्ने हामी म्याग्देली मिलेर म्याग्दीलाई अनुपम पर्यटनधाम बनाऔं। (शाक्य म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हुन्।)
म्याग्दी खोला
मराङ गाउँ
राखु क्षेत्र
धौलागिरी आधारशिविर
झिँ गाउँका बाद्यवादक
झाँक्रीपानी
बेनी बुद्ध बिहार
बिम गाउँ
जगन्नाथ मन्दिर