सन् २०२३ स्कटल्याण्डको विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने एक महिला गाइड। तर आठ वर्ष अघिसम्म उनलाई हिरो साइकल बाहेक अरू साइकल हुन्छ भन्ने समेत थाहा थिएन। यो कथा हो उषा खनालको।
स्थायी घर गोर्खा भएकी हाल ललितपुरको पुल्चोकमा बस्ने उषाको गाइड बन्ने यात्रा सन् २०१५ मा सुरु भयो। एक बालविकास केन्द्रमा सहयोगीको रूपमा काम गर्दै गर्दा, उनी फुर्सदको समयमा हात्तीवन क्षेत्रमा दौडन जान्थिन्। पाँचदेखि दश किलोमिटरसम्म दगुर्ने उनको दैनिकी थियो। एक दिन त्यहाँ भइरहेको डाउनहिल साइकल रेसले उनको ध्यान तान्यो।
सुरुमा साथीहरूको साइकल मागेर वा भाडामा लिएर हप्तामा दुई दिन चलाउन थालिन्। त्यसैबेला एउटा जागिर छोड्दा सञ्चयकोषमा जम्मा भएको रकमले उनलाई ठूलो निर्णय लिने हिम्मत दियो। ५५ हजार रुपैयाँमा आफ्नै साइकल किनिन्। तर घरमा लैजान डर। एक हप्तासम्म साइकल साथीकहाँ लुकाएर राखिन्।
‘त्यहाँ साइकल उडाएको देखेर म छक्क परें,’ उनी त्यो दिन सम्झिँदै भन्छिन्। साथीले ‘हेर त कति पातली केटीले साइकल चलाएको’ भनेपछि मेरो मनमा पनि केही गर्ने जाँगर पलायो।
सुरुमा साथीहरूको साइकल मागेर वा भाडामा लिएर हप्तामा दुई दिन चलाउन थालिन्। त्यसैबेला एउटा जागिर छोड्दा सञ्चयकोषमा जम्मा भएको रकमले उनलाई ठूलो निर्णय लिने हिम्मत दियो। ५५ हजार रुपैयाँमा आफ्नै साइकल किनिन्। तर घरमा लैजान डर। एक हप्तासम्म साइकल साथीकहाँ लुकाएर राखिन्।
सन् २०१७ मा उनको जीवनमा ठूलो मोड आयो। एक अमेरिकी कम्पनीले महिला गाइडमाथि डकुमेन्ट्री बनाउन नेपाल आएको थियो। सोलुखुम्बुमा छायाङ्कन गर्दा उनलाई तालिम र रोजगारीको प्रस्ताव मिल्यो। सुरुमा दुई–तीन वटा ट्रेकिङमा सहायक गाइडको रूपमा काम गरिन्, अनि २०१८ मा मुख्य गाइड बनिन्।
‘पर्यटकहरू हामीलाई विश्वास गरेर आउनुहुन्छ,’ उनी आफ्नो जिम्मेवारी बारे बताउँछिन्। ‘उच्च हिमाली क्षेत्रमा साइकल यात्रा गराउँदा धेरै कुराको ध्यान दिनुपर्छ। साइकल बिग्रियो भने बनाउनुपर्छ, कुन समयमा कुन रुट प्रयोग गर्ने, मौसमको अवस्था कस्तो छ, यात्रीको स्वास्थ्य कस्तो छ – सबै कुराको जिम्मेवारी गाइडको हुन्छ।’
उनको यो यात्रा सजिलो थिएन। धेरै पटक लडिन्। घुँडादेखि हातसम्म अप्रेसन गर्नुपर्यो। ‘तर मलाई साइक्लिङको एक प्रकारको नशा लागिसकेको छ,’ उनी मुस्कुराउँदै भन्छिन्। ‘हिँड्ने मान्छे लड्छ भने झैं म फेरि आफूलाई तयार गरी हाल्छु’ उन भन्छिन्।
उनको मेहनत र समर्पणले फल दियो। सन् २०१९ मा भएको दक्षिण एसियाली गेम्समा रतज पदक जित्न सफल भएकी थिइन भने सन् २०२३ मा राष्ट्रिय च्याम्पियनसिपमा डाउनहिल र क्रसकन्ट्री दुवै विधामा स्वर्ण पदक जित्ने पहिलो महिला बनिन्। त्यसैवर्ष स्कटल्याण्डमा विश्व च्याम्पियनसिप र चीनमा दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिन्।
‘पर्यटक गाइडको रूपमा त केही महिला हुनुहुन्छ, तर साइक्लिङ गाइड अत्यन्तै कम छौं,’ उनी भन्छिन्। ‘कतिपय त मलाई देखेर छक्क पर्नुहुन्छ। तर मैले महिला भएको कारण कहिल्यै अप्ठ्यारो महसुस गरेकी छैन। बरु सबैले ‘कति हिम्मतवाली, कस्तो साहस’ भन्दै प्रेरणा दिनुहुन्छ।’
नेपालमा साइकल ट्रेलको अभाव छ। मान्छे हिँड्ने बाटो र सिँढीमा साइकल गुडाउनुपर्ने बाध्यता छ। ‘सरकारले ध्यान दिने हो भने यसबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनी सुझाउँछिन्। ‘हाम्रो देश विश्वकै राम्रो साइक्लिङ गन्तव्य बन्न सक्छ।’
आज उनी अरू महिलाहरूलाई यस क्षेत्रमा ल्याउन चाहन्छिन्। ‘सरकारले महिलाहरूलाई तालिम र सहुलियतमा साइकल उपलब्ध गराए धेरै आकर्षित हुनेछन्,’ उनको सुझाव छ। ‘महिलाहरूमा साहस कम भएको होइन, यो काम चुनौतीपूर्ण भएकोले धेरैले यस्तो भार बोक्न नचाहेको हो।’
आजको पुस्तालाई उनको सन्देश स्पष्ट छ – ‘छिटो नतिजाको खोजीमा नलाग्नुहोस्। लगनशील बन्नुहोस्। आज नभए भोली, भोली नभए पर्सि सफलता अवश्य मिल्नेछ।’
उनको कथाले नेपाली पर्यटन क्षेत्रमा महिलाहरूको सहभागिता बढाउन नयाँ आशा जगाएको छ, र भविष्यमा थप धेरै महिला साइक्लिङ गाइडहरू देख्ने आशा दिएको छ। उनै खनालसँग सँग एभरेस्ट पेडियाले ‘गाइडको कथा’ सृङ्खलामा कुराकानी गरेको छ।