काठमाडौं। नेपाल पर्यटन बोर्ड (एनटीबी)ले अमेरिका आयोजना हुने दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा सहभागिताका लागि आवेदन खुलाएको छ।
बाेर्डले ‘ट्राभल एडभेन्चर शो २०२५’ नामक मेलाहरू क्रमश: लस एन्जलस (फेब्रुअरी २२-२३, २०२५) र डेनभर (मार्च ८-९, २०२५) मा आयोजना हुने मेलामा सहभागिताका लागि आवेदन खुलाएकाे हाे।
नेपालको पर्यटन व्यवसाय प्रवर्द्धनका लागि आयोजना गरिएका यी मेलाहरूमा सहभागी हुन प्रत्येक कम्पनीले रु २,००,००० शुल्क बुझाउनुपर्ने छ। मेलाहरूमा १० कम्पनीहरूले मात्र सहभागी हुने मौका पाउने छन्।
सहभागिताका लागि आवेदन दिन इच्छुक कम्पनीहरूले २०२५ जनवरी १५ भित्र अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन प्रक्रिया नेपाल पर्यटन बोर्डको आधिकारिक वेबसाइट (https://tenders.ntb.gov.np) मार्फत पूरा गर्न सकिन्छ।
आवेदनका लागि कम्पनी दर्ता प्रमाणपत्र, भ्याट/प्यान दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाणपत्र, सम्बन्धित निकायबाट प्राप्त इजाजतपत्र, कम्तीमा १ वर्षदेखि सञ्चालनमा रहेको प्रमाण अनिवर्य गरिएकाे बाेर्डले जनाएकाे छ।
पर्यटन बोर्डका अनुसार कम्पनीहरूको छनोट ‘पहिला आवेदन दिने आधार’मा गरिनेछ। छनोटमा परेका कम्पनीहरूले तुरुन्तै सहभागिता शुल्क बुझाउनु पर्नेछ।
सहभागी कम्पनीहरूले यात्रा, बसोबास र भिसाको सम्पूर्ण व्यवस्था आफ्नै खर्चमा गर्नुपर्नेछ। नेपाल पर्यटन बोर्डले भिसा सिफारिसपत्र उपलब्ध गराउनेछ।
कार्यक्रम आयोजक वा बोर्डद्वारा अप्रत्याशित परिस्थितिमा मेला रद्द भएमा, शुल्क फिर्ता सम्बन्धमा बोर्डले आवश्यक निर्णय लिने बताइएको छ।