सोलुखुम्बु: खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिकाको क्षेत्रभित्र हुने अनियन्त्रित हेलिकप्टर उडानका कारण वातावरण, पर्यटन व्यवसाय र स्थानीय जनजीवनमा परिरहेको असरप्रति गम्भीर आपत्ति जनाएको छ।
गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै नागरिक उड्ययन प्राधिकरण र सगरमाथा राष्ट्रिय निकुञ्जबाट आएका पछिल्ला निर्णयहरूले स्थानीय बासिन्दा र पर्यटन व्यवसायीमा निराशा उत्पन्न गराएको बताएको छ।
गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सगरमाथा क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत गरिमा बोकेको स्थान हो। यहाँ हुने अनियन्त्रित हेलिकप्टर उडानले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार र स्थानीय पर्यटन व्यवसायमा प्रतिकूल असर पुर्याएको छ।’
गाउँपालिकाले संविधानअनुसार स्थानीय सरकारलाई वातावरण संरक्षण, जैविक विविधताको रक्षा र स्थानीय सेवाको व्यवस्थापनको जिम्मेवारी रहेको उल्लेख गर्दै अनियन्त्रित हेलिकप्टर उडानले ध्वनि प्रदूषण, वन्यजन्तुको वासस्थान, र स्थानीय समुदायको शान्ति भंग गर्ने भन्दै विरोध जनाएको छ।
‘बालबालिकाले शान्त वातावरणमा पढ्न पाउने अधिकार र स्थानीय पेशा व्यवसायको संरक्षण हाम्रो प्राथमिकता हो। यसकारण सबै सरोकारवालाबीच समन्वय गरी समस्याको दीर्घकालीन समाधान खोज्न आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।
गाउँपालिकाले २०८१ मङ्सिर १९ गते लुक्लामा सरोकारवाला संस्थाहरू, वायुसेवा संचालक संघ र स्थानीय प्रतिनिधिहरूबीच बैठक भएको र स्थानीयस्तरमा थप छलफल गरी समस्या समाधान गर्न पहल भइरहेको जानकारी गराएको छ। तर, वायुसेवा संचालक संघबाट आपतकालीन उद्धार नगर्ने भन्दै विज्ञप्ति जारी भएकोप्रति दुःख व्यक्त गर्दै यसलाई ‘सामाजिक उत्तरदायित्वबाट विमुख नाफा केन्द्रित प्रवृत्ति’को रूपमा व्याख्या गरेको छ।
गाउँपालिकाले निषेधात्मक नीतिभन्दा संवाद र सहकार्यमार्फत समस्याको समाधान खोज्न प्रतिबद्ध रहेको बताएको छ। साथै, आपतकालीन उद्धार र मालसामानको ढुवानी जस्ता सेवाहरूलाई सहज बनाउनका लागि पहल गरिरहेको समेत जानकारी दिएको छ।
गाउँपालिकाले सबै पक्षलाई समन्वय, छलफल, र सहकार्यको माध्यमबाट यो समस्याको दीर्घकालीन समाधान खोज्न आह्वान गरेको छ।
सगरमाथा निकुञ्जमा हेलिकप्टर उडानलाई थप नियन्त्रण, वातावरणीय प्रभावलाई रोक्न निर्देश
हेलिकप्टर उडानमा प्रतिबन्धपछि खुम्बु क्षेत्रको हवाई सेवा स्थगित