काठमाडाैं। दोलखा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य कालिञ्चोकमा यस वर्षको पहिलो हिमपातले पर्यटन व्यवसायमा नयाँ उत्साह थपेको छ। उच्च पहाडी क्षेत्रमा मंगलबार भएको हिमपातले पर्यटकीय गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
स्थानीय होटल व्यवसायी हरि ओलीका अनुसार हिमपातको समाचार सार्वजनिक भएपछि होटल बुकिङका लागि सोधपुछ बढेको छ। विशेषगरी शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिनहरुमा पर्यटकहरुको चहलपहल बढ्ने गरेको यस क्षेत्रमा हिमपातले थप पर्यटक आकर्षित गर्ने विश्वास गरिएको छ।
वार्षिक रुपमा हजारौं स्वदेशी तथा भारतीय पर्यटकहरुको रोजाइमा पर्ने कालिञ्चोक क्षेत्रमा यातायातको सुविधा पनि सहज रहेको छ। ओलीका अनुसार सडक पूर्णरुपमा सञ्चालनमा रहेकोले पर्यटकहरुलाई आवतजावतमा कुनै समस्या छैन।
हिउँसँग रमाउन चाहने पर्यटकहरुका लागि कालिञ्चोक एक उत्कृष्ट गन्तव्यको रुपमा स्थापित भएको छ।
कसरी पुग्ने कालिञ्चोक
काठमाडौंदेखि दोलखाको दूरी १ सय ८२ किलोमिटर छ । दोलखाको सदरमुकाम चरिकोटबाट कालिञ्चोक जान थप १७ किलोमिटरको दूरी पूरा गर्नुपर्ने हुन्छ। कालिञ्चोक समद्री सतहदेखि ३ हजार ८ सय ४२ मिटरको उचाइमा छ। त्यहीँ कालिञ्चोक भगवती मन्दिर अवस्थित छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती गरी सात भगवती दिदी बहिनीमध्ये एक हुन् भन्ने किम्बदन्ती छ । काठमाडौंबाट चरिकोटसम्म सार्वजनिक सवारी चढेर दोलखा पुग्न सकिन्छ ।
चरिकोटकबाट कालिञ्चोक जान अर्को लोकल जीप समातेर जानुपर्ने हुन्छ । चरिकोटदेखि कालिञ्चोकको कुरी बजारसम्म कच्ची मोटरबाटो छ, जुन बाटोमा बोलेरो र मोटरसाइकल चलाउन सकिन्छ। यस बाटोमा नियमित सार्वजनिक सवारीसाधन भने उपलब्ध छैन।
सम्पर्क :
हरि ओली
९८५११८३०३५७ होटल सुनापाती