काठमाडौं। सन २०२४ मा १३ लाख २० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो। कोरोना महामारीपछि लयमा फर्किएको पर्यटन क्षेत्रमा १३ लाख २० हजार पर्यटक नेपामा भित्रिने अनुमान नेपाल पर्यटन बोर्डको थियो। तर, यो लक्ष्य पूरा हुन सकेन।
बोर्डले जनवरी २ मा सार्वजनिक गरेको तथ्यांक अनुसार सन २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक नेपाल भित्रिएका छन।
तथ्यांक अनुसार २०२४ को जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६, मे’मा ९ हजार २ सय ११, जुन ७६ हजार ७ सय ३६, जुलाई ६४ हजार ५ सय ९९, अगस्ट ७२ हजार ७ सय १९, सेप्टेम्बरमा ९६ हजार ३ सय ५, अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३, १ लाख १४ हजार ५ सय १ र डिसेम्बरमा ९२ हजार ९४ पर्यटक नेपाल भित्रिएका छन।
सन २०२३ को तुलनामा सन २०२४ मा १३.१ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका छन। ०२३ मा १० लाख १४ हजार ८ सय ८२ पर्यटक नेपाल भित्रिएका थिए। तर, बोर्डले २०१९ को तथ्यांक (११ लाख ९७ हजार १ सय ९१)लाई आधार बनाएर त्यसको १० प्रतिशत बढी १३ लाख २० हजार पर्यटक नेपाल भित्रउने लक्ष्य राखेको थियो। यदि यो लक्ष्य पूरा भएको हुन्थ्यो भने नेपालमा पर्यटक आगमन कारोना महामारी अगाडिकै अवस्थामा फर्किएको मानिन्थ्यो। तर, त्यसो हुन सकेन।
किन पूरा भएन लक्ष्य
बोर्डले लक्ष्य पूरा नहुनुमा प्राकृतिक विपत्ति, सवारी तथा हवाई दुर्घटना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिमा बन्द गर्नुलाई प्रमुख कारण मानेको छ।
गत भदौ ७ गते पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय तीर्थयात्री सवार बस तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा दुर्घटना भयो। सो बस दुर्घटनामा परेर २७ जना भारतीय पर्यटकको ज्यान गएको थियो।
त्यस्तै असार २८ गते नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशुली नदीमा खसेर दुइटा बस बेपत्ता भए। दुई बसमा सवार ६५ जनामध्ये तीन जना मात्रै सकुशल निस्किएका थिए। यो दुर्घटना कारण नेपालको सडक सञ्जाल त्रसित भएको थियो।
सडक दुर्घटनासँगै २०२४ मा दुई ठुला हवाई दुर्घटना पनि भए। साउन ९ मा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन विमानस्थल छेउमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। साउन २३ गते नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो।
त्यस्तै असोज १२ र १३ गते सय जना बढीको ज्यान जाने गरी आएको देशव्यापी बाढी–पहिरो आएको थियो। त्यस समय लगभग देशका सबै सडक सञ्जालमा हप्तौंसम्म प्रभावित भएका थिए।
यसैगरी साउनमा खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर बाढी आएको थियो। त्यसबाट खुम्बु क्षेत्रको पर्यटकीय संरचनामा क्षति पुगेको थियो। जसलाई पर्यटन बोर्डले नेपालमा पर्यटक कम आउनुका कारणका रुपमा उल्लेख गरेको छ। ‘यो वर्ष बाढी पहिरोका धेरै घटना भए, हवाई दुर्घटना भए यही कारण पनि पर्यटक आउनमा समस्या भयो’, बोर्डका निर्देशक मणि लामिछानेले एभरेष्ट पेडियासँग भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग निर्माणका लागि कात्तिक २३ गतेदेखि रातिमा दैनिक १० घण्टा बन्द गरिएको छ। यसबाट उडानहरु प्रभावित भएका त छन नै त्यसमाथि भाडादरमा समेत चर्काइयो। विमानस्थल रातिमा बन्द भएका कारण पनि पर्यटक आगमनमा कमी देखिएको छ।
सरकारले त्रिभुवन विमानस्थलको विकल्पका रुपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई लिएको थियो। तर, यी दुई विमानस्थलमा नियमित उडान हुन सकेको छैन। त्यसमाथि यी दुई विमानस्थलमा पर्यटक आगमनको संख्या नगन्य रहेको लामिछानेले बताए। ‘काठमाडौं बाहिरका विमानस्थल खुले भन्ने मात्रै हो, त्यसबाट पर्यटक आगमन नगन्य छ’, उनले भने।
निजी क्षेत्र भने सरकार र पर्यटन बोर्डसँग पर्यटक भित्र्याउन खालका कुनै योजना र कार्यक्रम नभएको बताउँछन। कोरोना महामारीपछि पर्यटनको क्षेत्रमा निजी क्षेत्रबाट राम्रो लगानी भएपनि राज्यले ती संरचनालाई उपयोग गर्ने गरी कार्यक्रम गर्न नसकेको उनीहरुको भनाइ छ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले राज्य पर्यटक भित्र्याउनमा चुकेको बताए। ‘नेपालमा १२–१३ लाख मात्रै पर्यटकमात्रै भित्रिनुलाई त्यति राम्रो मान्न सकिँदैन। प्रचारप्रसारमा राज्यले समयअनुसार काम गर्न सकेन’, उनले भने।
पर्यटक आगमन कोरोना महामारी अगाडिकाे अवस्थामा फर्किएको भन्न मिल्दैन
सम्रगतामा नेपालको पर्यटन क्षेत्र कोराना महामारीपछि लयमा फर्किएको भन्ने गरिन्छ। तर, तथ्यांक त्यस्तो देखिँदैन। सन २०१९ नेपालमा सबैभन्दा बढी पर्यटक आएको वर्ष हो। यस वर्ष ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए। तर, २०१९ को तुलनामा २०२४ मा ४९ हजार ६ सय अर्थात् ४.१ प्रतिशत कम पर्यटक नेपालमा भित्रिएका छन।
त्यसयता कोरोना महामारी र लकडाउनबीच सन २०२०मा २ लाख ३० हजार ८५ तथा सन २०२१ मा १ लाख ५० हजार ९ सय ६२ पर्यटक नेपाल भित्रिएका थिए।
भने, २०२२ देखि पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। २०२२ मा ६ लाख १४ हजार ८ सय ५९ तथा २०२३ मा १० लाख १४ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन।
यी तथ्यांकलाई हेर्दा नेपालमा पर्यटक आगम २०१९ को अवस्थामा आइनपुगेको निर्देशक लामिछानेले बताए। ‘पर्यटक आगमन कारोना महामारीको अवस्थामा आएको भन्न मिल्दैन’, उनले भने।