सामाजिक सञ्जालमा ‘माछापुच्छ्रेको हिउँ खै?’ भन्ने सन्दर्भमा चर्चा भइरहँदा पुस ८ गते पोखरा पुगियो। त्यस दिन पोखरा पुग्दा साँझ परिसकेको थियो। भोलि बिहान वरिपरिका हिमालहरु नियाल्नु पर्ला भन्ने याेजनासहित सुतें। तर, अर्को दिन मौसम राम्रो नहुँदा हिमालहरू देख्न पाइएन। माछापुच्छ्रे पनि देख्न सकिएन। मन खिन्न भयो। तर, मनमा माछापुच्छ्रे हिमाल निहाल्ने उत्सुक्ता भने जुर्मुराइरहेकाे थियाे।
पुस १० गते बिहान मौसम केही खुल्याे। होटलबाट बाहिर निस्कने बित्तिकै माछापुच्छ्रे देखिहालेँ। तर, दृश्यले मलाई झस्कायो माछापुच्छ्रेमा हिउँ थिएन। कालो ढुङ्गा जस्तो देखिएको थियो।
फोटोपत्रकार भएको नाताले, म तुरुन्तै क्यामरा लिएर पुम्दिकोटतर्फ लागेँ। हिमालहरुकाे अवस्था यस्ताे हुनु जलवायु प्रभावकाे कारण हाे भन्ने कुरा थियाे नै। त्यसकारण पनि याे अवस्था क्यामेरामा कैद गर्नुपर्छ भन्ने साेच आयाे। अन्य बेला खिचिएका हिमालका तस्बिरभन्दा यस्तो अवस्थामा खिचिएका तस्बिरले अझ बढी महत्व बोकेको महसुस भयो। त्यसैले आत्तिँदै, त्यो क्षणलाई क्यामेरामा कैद गरें।
हिमालको बदलिँदो अवस्था देख्दा मनमा गहिरो छाप पर्यो। जलवायु परिवर्तनले हाम्रो प्रकृतिमा कति भयावह प्रभाव पारिरहेको छ भन्ने कुरा माछापुच्छ्रेको याे दृश्यले स्पष्टसँग देखाइरहेको छ।
पाेखरामा पुग्नेबित्तिकै आँखा अगाडि देखिने माछापुच्छ्रे हिमालको कालो पत्थरले धेरैलाई साेच्न बाध्य बताउँछ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार विश्वको औसत तापक्रम एक डिग्री सेल्सियसले बढेको छ। यदि तापक्रम यो दरमा अझै बढ्दै गयो भने हिमालय क्षेत्रको आधा हिउँ हराउन सक्ने चेतावनी दिइएको छ।
के साँच्चै माछापुच्छ्रेको हिउँ घटेको हो?
नेपालको मौसम प्रणालीअनुसार मंसिरदेखि जाडो याम सुरु हुन्छ। यस समयमा माथिल्लो उच्च पहाडी तथा हिमाली भू-भागमा हुस्सु र बादल लाग्ने अनि चिसो बढेसँगै हिउँ पर्ने हुन्छ। तर, पछिल्ला वर्षहरूमा जाडो बढे पनि हिउँ नपर्नु वा कम समयका लागि पर्नु आम समस्या बनेको छ। यसका साथै हिउँ जम्ने समय (अडिने आयु) पनि घटिरहेको छ।
विभिन्न अध्ययनहरूले मानवीय गतिविधि (एन्थ्रोपोजेनिक कारण)ले पनि हिउँको आयु घटाएको देखाएका छन्। माछापुच्छ्रेको दक्षिणी भेग पोखराको सहरी क्षेत्रमा फर्किएको हुनाले त्यहाँका क्रियाकलापले पनि असर पार्न सक्ने वातावरणविद् अमृत देवकोटा बताउँछन्।
उनकाअनुसार तीन महिनासम्म पर्नु पर्ने हिउँ राम्रोसँग एक महिनासमेत परेको छैन। यो समस्याले जलस्रोत र कृषिमा प्रत्यक्ष प्रभाव पार्छ। हिउँ कम हुनासाथ तल्लो भेगमा पानीका स्रोत सुक्ने, कृषि उत्पादन घट्ने र समग्र आर्थिक प्रणालीमा असर पर्नेछ।
पोखरा महानगरपालिका- ७ का ५४ वर्षीय पुरुषोत्तम पराजुलीले १० वर्षअघिको माछापुच्छ्रे र अहिलेको धेरै फरक पाएको बताए। पाँच वर्षअघि हिमाल खुल्ने, सफा हुने गरेको उनले बताए।
‘कोभिडका बेलामा भएको लकडाउनले हिमाललाई फाइदा पुगेको थियो,’ उनले भने, ‘त्यसपछिका दिनमा पुनः समस्या आइरहेको छ।’ यसबाट पर्यटन व्यवसायलाई मात्र नभई प्राकृतिक सुन्दरतालाई समेत समस्या पारेकाे उनकाे भनाइ छ।
ग्रामीण पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष शोभा सापकोटाले जलवायु परिवर्तनका कारण हिमालमा असर पुगेको बताइन्।
‘हिमाल हेर्न आउने पर्यटक पनि निरास भएर फर्किनु परेको छ,’ उनले भनिन्, ‘पोखरा क्षेत्रमा भएको प्रदूषण पनि हो र यसलाई न्यूनीकरण गर्दै जानुपर्छ।’ स्थानीय, प्रदेश र संघीय सरकारले प्रदूषण नियन्त्रणमा कार्ययोजना बनाएर काम गर्न उनको सुझाव छ।
माछापुच्छ्रे क्षेत्र जैविक विविधताको धनी क्षेत्र मानिन्छ। यहाँ हिमाली, क्षेत्रमा पाइने विविध प्रकारका वनस्पति र जनावरहरू पाइन्छन्। माछापुच्छ्रे र यस वरिपरिका जैविक विविधता जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परेका छन्। यदि तत्काल समाधान र जलवायु अनुकूलनको पहल गरिएन भने यो क्षेत्रको पर्यावरणीय र सांस्कृतिक महत्त्व गुम्न सक्ने सम्भावना छ।
माछापुच्छ्रेको हिउँ घट्नु केबल एउटा हिमालको समस्या होइन, यसको प्रभावले नेपालजस्तो हिमालयन देशलाई दीर्घकालीन संकटमा पार्न सक्छ। अबका दिनमा यस्ता विषयमा गम्भीर ध्यान दिनु आवश्यक छ, नत्र हामीले सामना गर्नुपर्ने चुनौतीहरू झन् गहिरिने छन्। यो समस्या केबल वैज्ञानिक वा विज्ञहरूको बहसको विषय मात्र होइन। यो संकेतले जनमानसमा सचेतना ल्याउनु र समाधान खोज्नु अबको आवश्यकता हो।