अर्घाखाँची। यस वर्ष पनि सन्धिखर्कमा महोत्सव सञ्चालन गर्ने अनुमति अर्घाखाँची उद्योग वाणिज्य संघले पाएको छ।
यस वर्ष सन्धिखर्क नगरपालिका– १स्थित कुरुलेफाँटमा महोत्सव सञ्चालन गर्ने गरी वाणिज्य संघसँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए।
‘महोत्सव सञ्चालनका लागि एउटा मात्रै प्रस्ताव आएको थियो। सोही प्रस्तावका आधारमा नगरपालिकाले यही पुस १९ गते उद्योग वाणिज्य संघलाई अनुमति दिएको छ’, भुसालले एभरेष्ट पेडियासँग भने।
त्यस्तै नगरपालिकाका प्रवक्ता मोतीजंग रायमाझीले कानुन अनुसार रोयल्टी भुक्तानी गर्ने, जुवा–तासजस्ता गतिविधि हुन नदिने, प्रवेशमा वृद्धवृद्धा पूर्ण छुट तथा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने लगायत सम्झौतापछि वाणिज्य संघलाई सञ्चालन अनुमति प्रदान गरिएको बताए।
त्यस्तै सोही स्थानमा महोत्सव सञ्चालनको लागि अनुमति दिए सन्धिखर्क अस्पताललाई ६५ लाख रकम रुपैयाँ सहयोग गर्ने घोषणासहित फर्वाड नेपाल मल्टिपर्पोज कम्पनी प्रा.लि.ले आइतबार प्रस्ताव राखेको छ।
सन्धिखर्क नगरपालिका– १ स्थित कुरुलेफाँटमा महोत्सव सञ्चालन गर्न इच्छुक रहेको बताउँदै कम्पनीले भनेको छ, ‘यस वर्षको सन्धिखर्कमा लगाउने मेलाको ६५ लाख यसै अर्घाखाँची जिल्लामा रहेको सन्धिखर्क अस्पतालमा निस्वार्थ हिसाबले ब्लड बैंक स्थापना गर्न सहयोग प्रदान गर्नेछौं।’
कम्पनीले घोषित उक्त रकम मेलाको अनुमति पाएको एक हप्ताभित्र ४० प्रतिशत, मेला सञ्चालन भएको पाँच दिनभित्र ४० प्रतिशत र मेला समापन हुनु दुई दिन अगाडि २० प्रतिशत नगरपालिकाले उपलब्ध गराएको राज्यको बैंक खातामा जम्मा गरिदिने बताएको छ।
यसबाहेक अर्काे एक कम्पनीले पनि महोत्सव सञ्चालनका लागि अनुमति मागेको छ।
यद्यपि, ती दुवै कम्पनीलाई महोत्सव सञ्चालनको अनुमति दिन नसकिने प्रमुख प्रशासकीय अधिकृत भुसालले स्पष्ट पारे। उनले भने, ‘बाह्रैमास मेला महोत्सव गर्न दिने कुरा हुँदैन, एउटा गर्ने अनुमति वाणिज्य संघले पाइसक्यो। यो बाहेक अरु महोत्सव गर्न सम्भव छैन, विद्यालय खुल्नेबेला भइसक्छ।’
उनले मेयर विदेश भ्रमणमा गएका कारण आइतबार अनुमति माग्न आएका पत्रहरुको विषयमा कुनै निर्णय नभएको बताए।
ती दुई प्रस्तावको अब के हुन्छ? भन्ने प्रश्नमा भुसालले भने, ‘यस्तो होडलो हाल्ने काम ठिक होइन, पछि आएका कम्पनीहरुले महोत्सव गर्दैनन।’
वाणिज्य संघले पुस २९देखि माघ १२ गतेसम्म महोत्सव सञ्चालनकाे तयारी गरेकाे छ।