काठमाडौं। नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। सेनाले आइतबार गोरखा दरबारबाट यो यात्रा सुरु गरेको हो।
सेनाले ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमहरूसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमान ढोकासम्मको पदयात्रा गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम सुरु गरेको हो।
पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज)को झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोसाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी रहेको छ।
श्री पश्चिम पृतनापति उपरथी मधुकर सिंह कार्कीको प्रमुख आतिथ्यमा शुभारम्भ भएको उक्त पदयात्रा कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख तथा उप–प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुखरप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो।
पदयात्रा कार्यक्रम धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर पौष २७ गते जङ्गी अड्डामा आयोजना हुने विशेष समारोहकाबिच समापन हुनेछ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा पृथ्वीनारायण शाहको देनसम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शन, कविता प्रतियोगितालगायतका कार्यक्रमहरू आयोजना हुनेछ।