मुस्ताङ हिमाली जिल्ला हो। यसको क्षेत्रफल ३५७३ वर्ग किलोमिटर छ । मुस्ताङमा ५ वटा गाउँपालिका छन्, घरपझोङ गाउँपालिका, थसाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका, लोमन्थाङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका।
हिमाली जनजीवन, थकाली एवम् भोटे सभ्यता अध्ययन गर्न मुस्ताङ अतुलनीय गन्तव्य हो । यहाँ हिन्दु र बौद्धमार्गीका महत्वपूर्ण तिर्थस्थल छन् । उपल्लो भूभागमा विचित्रको भूदृश्य देखिन्छ । सधैं चिसो हुने भएकाले यसलाई चिसो मरुभूमि पनि भनिन्छ।
सन् १९९१ सम्म उपल्लो मुस्ताङ विदेशीका लागि निषेधित थियो। सन् १९९२ बाट पर्यटकका लागि आँशिक रुपमा खुला गरियो। उपल्लो मुस्ताङ घुम्न विदेशीले प्रवेश शुल्कस्वरुप १० दिनको एकमुष्ठ पाँच सय डलर राजस्व तिर्नुपर्छ। त्यसपछि प्रतिदिन थप ५० डलर लाग्छ।
महँगो प्रवेश शुल्क लिनाले उपल्लो मुस्ताङमा थोरै मात्र पर्यटक जान्छन्। पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। त्यसका लागि ठुलो संख्यामा पर्यटक आवश्यक हुन्छ। त्यसैले लोमन्थाङबासी महंगो प्रवेश शुल्क खारेजीको पक्षमा छन्।
यसै सिलसिलामा लोमन्थाङ होटल एसोसियसनका अध्यक्ष एवम् युवा उद्यमी छेवाङ बिष्ट भन्छन्, ‘सन् १९९२ मा बनाइएको नियमले अहिले काम गर्दैन। जबसम्म निषेधित क्षेत्र पूर्ण रुपमा खुला गरेर अपर र लोअर मुस्ताङमा एक रुपता कायम गरिँदैन, तबसम्म पर्यटक बढ्ने छैनन्। हामीलाई धेरैभन्दा धेरै पर्यटक चाहिएको छ। त्यसका लागि महँगो प्रवेश शुल्क उठाउने नियम खारेज हुनुपर्छ।’
उपल्लो मुस्ताङमा साविकका छोसेर, छोन्हुप, लोमन्थाङ, सुर्खाङ, चराङ, घमी र छुक्साङ् गाविस पर्छन्। यहाँ बौद्ध संस्कृति, भोटे जीवशैलीको सुबास पाइन्छ। उपल्लो मुस्ताङको राजधानी लोमन्थाङबाट २१ किलोमिटर दुरीमा पर्दछ, सिमावर्ती कोरोला नाका। कोरालाबाट मानसरोवर तिर्थ पुग्न करिब ६ घण्टा लाग्छ। त्यसैले नेपाली, भारतीय सहित संसारभरका हिन्दूलाई उपल्लो मुस्ताङ हुँदै मानसरोवर घुमाउन सके गण्डकी प्रदेशकै पर्यटनमा नयाँ आयाम थपिन्छ।
‘महँगो प्रवेश शुल्क लिएर कसरी पिलग्रिमेज टुर प्रवद्र्धन गर्न सकिन्छ ?’, लोमन्थाङमा मन्डला होटल समेत सञ्चालन गर्दै आएका अगुवा छेवाङ भन्छन्, ‘यहाँ खुला पर्यटन नीति आवश्यक छ।’
प्रस्तुत छ, यिनै पर्यटनकर्मी छेवाङ विष्टसँग गरिएको भिडियो कुराकानी: