काठमाडौं। गत मंसिर २४ गते (सोमबार) साहसिक खेलाडी, पत्रकार र समाजसेवीसहितको टोली जिरी ओर्लियाैं। जिरीमै जन्मे/हुर्केका युवा उद्यमी लिलाराम खड्काको नेतृत्वमा ‘जाऔं है च्योर्दाेङ’ अभियान सञ्चालनको तयारी थियो। यही अभियानका लागि टोली जिरी पुग्यो।
च्योर्दोङ दोलखाको जिरी नगरपालिका र गौरीशंकर गाउँपालिकामा समुन्द्र सतहदेखि ३ हजार ७ सय मिटर उचाइमा अवस्थित ‘हिलस्टोन’ हो। धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वले भरिपूर्ण यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरिएको हो।
काठमाडौंदेखि पूर्व १८० कि.मि. दूरीमा पर्ने जिरी बजार टेक्नसाथ टोलीलाई गाबिला होटल र होटल गौरी हिमालमा बास बस्ने व्यवस्था मिलाइएको थियो। अभियान र यात्राबारे लिलाराम भाइले जानकारी गराए।
चिया, थुक्पा, सेलरोटी, अण्डासहितको बिहानी खाजा खाएर हामी तीनवटा जिपमा यात्रा सुरु गर्यौं। यात्रा सुरु गर्दा बिहानको ९ बजेको थियो। जिप कच्ची सडकको बाटो पछ्याउँदै रिम्पोचे, पटासे डाँडा (तामाङ गाउँ) हुँदै उकालो चढ्यो।
जिप आफ्नै गतिमा हुँइकिँदै गर्दा देखिन थाल्यो, नुम्बुर हिमालको नमोमहक दृश्य।
जिप उकालो चढिरह्यो। पहाडी सौन्दर्यताले मन प्रफुलित हुँदै गयो। उज्वल, लिलाराम भाइ र म जिपको पछाडि बसेर वरिपरिको दृश्य निहाल्ने निधो गर्यौं। गाडीभित्र कोचिएर बस्नुभन्द पछाडि बस्दा कति हो कति आनन्द। खाल्डाखुल्डीसहितको कच्ची सडकमा अगाडि–पछाडि, दायाँ–बायाँ हल्लिँदै जिप–सयरको भरपुर मज्जा लियौँ।
करिब डेढ घण्टाको यात्रापछि पटासे, गुरुङ चौतारा हुँदै क्याङसे पोखरी (२९०० मि) पुगियो। क्याङसे पोखरी जिपको अन्तिम गन्तव्य हो।
जिप यात्रा निकै रोमाञ्चक भयो। अभियान टोलीले क्याङसे पोखरीको दर्शन गरे। केहीबेर थकाइ मारेर फोटाहरु खिच्यौं। यहाँबाट देखिने दृश्य निकै लोभलाग्दो थियो। दोलखाका डाँडाकाँडाले मन लोभ्यायो।
दिउँसोको करिब १२ बजे पैदल यात्रा प्रारम्भ भयो। डेढ घण्टाको पैदल यात्रापछि खाना खाने ठाउँमा पुग्ने लक्ष्यसहित टोली अगाडि बढ्यो। उकालोमा रमाइलो पदयात्रा। केही साथीहरु अगाडि हिँडे म’लगायत गौरीशंकर होटल यार्साका सञ्चालक तेजेस्वी भाइ र सुमन खड्का पछि–पछि आफ्नै सुरमा यात्रा गरियो। घनाघोर जंगल छिचोल्दै यात्राले गति लिँदै गयो। पदयात्राको क्रम थुदुङ्सा प्रतीक्षालयमा पुग्यो।
स्थानीयहरु पानीको पाइप बोकेर अगाडि–पछाडि हिँडिरहेका थिए। हाम्रो टोलीका सहयोगी भाइहरु डोकोमा टेन्ट, खाद्यन्न र साइकल बोकेर उकालो लागिरहेको थिए। हामी पनि बस्दै, नाच्दै, किस्सा सुन्दै/सुनाउँदै अगाडि सर्दै थियौं। डेढ घण्टामा स्यारदुङ्मा हुँदै फेमादिङ्मा (३२०० मि.)मा हाम्रा पाइला पुग्दा केही साथीहरु खाना खाँदै थिए। केही साथीहरु खाना खाएर अगाडि बढिसकेका थिए।
फेमादिङ्मा (च्योर्दोङ बेस क्याम्प)मा किचेन टोलीले बनाएको स्वादिलो दाल, भात र मासुको मिठो परिकारले थकित शरीरमा फूर्ति जगायो।
हामी अन्तिम टोलीले खाना खाएर यात्रा पुनः सुरु गर्दा दिउँसोको ३ बजेको थियो। खाना खानेबित्तिकै हिँडेको भएर होला शरीर केही भारी भयो। हिँड्दै गर्दा झुपुकझुपुक निन्द्रा पनि लाग्न खोज्दै थियो। तर, पनि यात्रा रोकिएन। गुराँसे जंगलको हल्का उकालो गोरेटो हुँदै केहीबेरपछि तेस्रो बाटो सुरु हुन्छ। पाइला जतिजति अगाडि बढ्दै थिए, बुट्यानहरु पातलिँदै थिए। घाम डाँडामाथि पुग्दै थियो। हिमालहरु नजिकिँदै थिए। उचाइसँगै चिसो हावाको बेग बढ्दै थियो।
सूर्यास्तको दृश्यतिर क्यामेरा तेर्सायौं। कति साथीहरु टिकटक र रिल्स बनाउनमा व्यस्त थिए। अस्ताउँदो घामले हामीमा जगाएको उत्साहको कुनै सीमा नै थिएन।
अब गन्तव्यमा पुग्न १५–२० मिनेट उकालो हिँडे मात्रै पुग्ने सुनियो।
हामी च्योर्दोङडाँडाको क्याम्पसाइटमा झुल्किँदा अघिल्लो टोली थकाइ मार्दै थियो। डाँडामा बेस्सरी हावा लागिरहेको थियो। डाँडामा लहरै टेन्ट टाँगिएको थियो।
हैट! हावा पनि के सारो हो, टेन्ट नै उडाउला जस्तो।
अझै सुरुमा त टेन्ट माथि डाँडामा टाँगिएको थियो। पछि तल सारियो। अनि बल्ल ‘अब त रात राम्रोसँग कट्ला’ भनेर ढुक्क भइयो। माथि डाँडामै सुतेको भए त के हुन्थ्यो होला? भन्न सकिन्नँ।
राति क्याम्पफायर सुरु भयो। साथीहरु क्याम्पफायर वरिपरि नाचगान गर्दै रमाइलो गर्न थाले। अबेरसम्म भलाकुसारी, नाचगान भए। रमणीय च्योर्दाेङमा रात बितेको पत्तै भएन। दिनभरि रमाइलो गरियो।
अर्को दिन बिहान उठ्दा पूर्वतिर लामो रातो रेखा डाँडामा कोरिएको जस्तो देखियो। सूर्याेदयको दृश्य खिच्न हतार–हतार टेन्टबाहिर निस्कियौं।
सूर्याेदयले ल्याएको खुसी लगभग सबैको क्यामेरा र मोबाइलमा सुरक्षित रह्यो। अनि, झुल्किँदो घाममा खुल्दै गरेका हिमशृङ्खलाहरु पनि।
यतिबेला मनमा छाएको खुसीको स्वाद नै बेग्लै थियो।
अहो! हिमालको कति लामो लस्कर। धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, गणेश हिमाल, लाङटाङ, गौरिशंकर, नुम्बुरलगायत दर्जनौं सेताम्मे हिमाल देखिए।
केही हिमालहरु काला देखिन्थे। हिउँ नै नभएको जस्तो। ‘केही वर्षपछि त यी सेता हिमाल, कालापहाड पो हुने हुन कि?’ मनमा कुरा खेल्यो।
घाम छिप्पिँदै थियो। हावाको गति मन्द हुन थाल्यो। बिस्तारै च्योर्दोङडाँडा न्यानो हुँदै गयो। रातभरि मान्छे नै उडाउने गरी चलेको हावा बिहान सुस्ताएको थियो। कठ्याङ्ग्रिको शरीर तात्न थाल्यो।
बिहान किचेन टोलीका भाइहरुले चिया–नास्ता तयार पारिसकेको थिए। तातो चियाको चुस्कीसँगै ज्यान पनि रनक्क तात्यो।
किचेन टोलीका केही भाइहरुले डाँडामा पदमचाल रक्सीको बहान बसाले। अहो, ३७०० मिटरको उचाइमा झलमल्ल हिमालको अगाडि रक्सी पारेको दृश्य क्या गज्जब।
लिला भाइ, भक्तशंकर दाइलगायत केही साथीहरु घामको तापमा आनन्द लिइरहेका थिए। साइकले मित्रहरु रञ्जनराज भण्डारी, गोपाल श्रेष्ठ, सुदीप पाैडेल, चन्दा खड्काको टोली डाँडामा साइकल कुदाउन थालिहाले।
जसै डाँडामा साइकल कुद्न थाले, हिमाली पृष्ठभूमिसहित साइकल कुदिरहेका तस्बिरहरु कैद गर्न फोटोग्राफर साथीहरु तम्सिए। भटाभट तस्बिरहरु खिचियो। पृष्ठभूमिमा हिमालको दृश्यसँगै साइकल सरर... कुदाउँदा च्योर्दाेङडाँडामा मेलाजस्तै देखियो।
‘साइकल पर्यटनको लागि यो ठाउँ गज्जब छ’, रञ्जनराज भण्डारीको मुखबाट अकस्मात् बोली निस्कियो।
हामीले दर्जनौं फोटा र भिडियो खिच्यौं। उत्तरतिर सेताम्मे हिमालको लर्काे देखिन्थ्यो। दक्षिणतिरकोे भू–भागमा एक विशाल पेन्टिङजस्तै दृश्य अडिएको थियो।
चन्द्रशेखर दाइ लामा–लामा लेन्ससहितको क्यामेरा बोकेर पल्लो डाँडातिर लागे। उनलाई पछ्याउँदै उज्वल भाइ र साइकल डौडाउँदै मित्र सुदीप पौडेल पनि त्यतैतिर सोझिए।
सबै साथीहरु आ–आफ्नै धुनमा डाँडातिर छरिए। कोहीलाई फोटो, कोहीलाई टिकटक, कोहीलाई रिल्स, कोहीलाई भिडियो खिच्नु थियो। च्योर्दोङ गुलजार बन्यो।
घाम छिप्पिँदै थियो। हिमालहरु टल्किँदै।
मध्यदिनमा खानपिन गरेर ओरालो लाग्ने तरखरमा टोलीहरु आ–आफ्नो झोला कसे। टेन्टहरु पनि प्याक भए। फर्किंदा टोलीले च्योर्दाेङडाँडाको शिव मूर्ति दर्शन गर्यो। डोल्पाली शिक्षासेवी सेम्दुक लामाले लुङ्गदार (बुद्धिष्ट प्रार्थना झण्डा) टाँगे।
मध्यदिनको समय, घाम माथि पुगेको थियो। निलो आकाश, हिमाल झन् झन् टल्किँदै थियो। बिताएका करिब १८ घण्टा मन, मस्तिष्क र क्यामेरामा कैद गर्दै चेर्दोङडाँडाबाट बिदाइ भइयो।
च्योर्दोङडाँडा पछाडि छोड्दै सेम्दुक सर, उज्वल भाइ, लेखक रोहेज खतिवडासहितको टोली बिस्तारै ओरालो लम्कियौं।
च्योर्दोङडाँडाबाट सूर्योदय र सूर्यास्तका अनुपम दृश्यले मन्त्रमुग्ध बनायो। मन आन्दित भयो।
डेढ दिनको च्योर्दोङ डाँडाको बसाइँ अत्यन्तै रमाइलो भयो। यस यात्रा अनुभवले च्योर्दोेङको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको सम्भावना झल्काएको छ।
च्योर्दाेङमा पर्यटनको अपार सम्भावना छ। यही सम्भावनालाई बुझेर लिलाराम खड्काले ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरेका हुन्। ‘हामीले च्योर्दोेङमा पर्यटकको ध्यानाकर्षण गराउन यो अभियान सुरु गरेका हौं’, उनले अभियानको रहस्य बताए। यहाँको पूर्वाधार विकासमा स्थानीय तह, सरकार र सरोकारवालाको ध्यान खिच्नु पनि अभियानको लक्ष्य हो।
अभियान टोलीमा सहभागी नेपाल साइकल संघका वरिष्ठ उपाध्यक्ष सुदीप पौडेलले च्योर्दोेङलाई साहसिक पर्यटन र खेलकुदसँग जोडेर अघि बढाउनसके यो विश्वस्तरीय गन्तव्य बन्ने बताए। साहसिक पर्यटनले यस क्षेत्रको पर्यटन प्रवर्धन गर्दै स्थानीय तहको आम्दानी बढाउने उनको विश्वास छ।
लेखक लोकराज भट्टले आफ्नो विचार पोखे, ‘च्योर्दोङ एक यस्तो स्थान हो, जहाँ एकै ठाउँबाट लामो हिमशृंखला अवलोकन गर्न सकिन्छ। र, टाढा टाढासम्मको पहाडी र नजिकै हिमाली दृश्यले कथा सिर्जनाका अनेकौं सम्भावना फुर्छ।’
त्यस्तै शिक्षासेवी लामाले च्योर्दोङको सुन्दरता बयान गर्दै भने, ‘डोल्पाभन्दा फरक अनुभव भयो। अन्नपूर्णदेखि नुम्बुरसम्मका हिमालको शृंखलाले मन लोभ्यायो। काठमाडौंनजिकै रहेको यो ठाउँ प्रचार र पूर्वाधार विकास गर्नसके आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ।’
टोलीमा वरिष्ठ पत्रकार चन्द्रशेखर कार्की, समाजसेवी भक्तशंकर श्रेष्ठ र सगरमाथा आरोही लालबहादुर जिरेल पनि टोलीमा थिए। साथै, साइक्लिस्टहरू रञ्जन राजभण्डारी, सुदीप पौडेल, गोपाल श्रेष्ठ, सिर्जना अधिकारी र चन्द्रा खड्काले सहभागिता रहेको थियो।
साइक्लिस्ट टोलीले डाँडामा साइक्लिङ गर्दै साहसिक पर्यटनको सम्भावना पहिचान र चुनौतीहरूको अध्ययन गरेका थिए।
च्योर्दाेङ यात्रामा पत्रकारहरू राजकुमार गजुरेल लेखक तथा पत्रकार रोहेज खतिवडा, लेखक भट्ट, फोटो तथा भिडियो पत्रकार उज्वल श्रेष्ठ र काजी थापा सहभागी थिए।
साथै जिरीका पत्रकार तथा शिक्षक केन्द्रज्योति खड्का, फोटो पत्रकार जीवन लामा, व्यावसाय केशव कार्की (माडे), तेजेस्वी बस्नेत, सुमन खड्का र प्रहरी निरीक्षक गनेन्द्र हाङ्ग गजुमको पनि यात्रामा सहभागतिता रहेको थियो।
अभियानमा क्याम्पिङको सम्पूर्ण व्यवस्थापन सगरमाथा आरोही लालबहादुर जिरेलको नेतृत्वमा १५ जना स्थानीय युवाले गरेका थिए।
पर्यटन प्रवर्द्धन मञ्च नेपालको ब्यानरमा ‘जाऔं है च्योर्दोङ’ अभियान आयोजना गरिएको हो। करिब डेढ दशकदेखि जिरी र दोलखा आसपास क्षेत्रको पर्यटन प्रवर्दधन र विकासमा सक्रिय लिलारामको नेतृत्वमा विभिन्न अभियान चलाउँदै आएको छ।
च्योर्दोङ हिन्दू र बौद्धमार्गीहरुको साझा तीर्थस्थल हो। जहाँ धार्मिक सह–अस्तित्वको अनुपम उदाहरण देख्न सकिन्छ। यो स्थान दुवै सम्प्रदायका लागि पवित्र मानिन्छ। हरेकले आ–आफ्ना परम्परा र विश्वासअनुसार पूजा गर्ने प्रचलन छ।
च्योर्दोङडाँडामा च्योर्दोश्वर महादेवको बासस्थान छ। हिन्दू धर्मावलम्बीहरूले महादेवको विशेष पूजा गर्ने प्रचलन रहेको छ। यो स्थानमा महादेवको पूजा गर्नाले रोग–व्याधि नलाग्ने र वन्यजन्तुले चौपायालाई दुःख नदिने विश्वास गरिन्छ।