मानिसको जीवनमा धेरै मोडहरू आउँछन्, जहाँ मानिसले आफ्नो इमान र पैसाबीच एक रोज्नुपर्ने हुन्छ। दोलखाका ध्यान बहादुर जिरेलको जीवनमा पनि त्यस्तै मोड आयो। राम्रो तलब र सुविधा भएको सब–ओभरसियरको जागिर खाइरहेका उनले आफ्नै सुपरभाइजरले घुस खाएको देखेपछि एउटा कठिन तर साहसिक निर्णय गरे, जागिर छाड्ने। यो निर्णय सजिलो थिएन, तर उनको आत्मसम्मान र नैतिक मूल्यहरूले उनलाई अर्को बाटो देखायो।
एक साधारण परिवारमा जन्मिएका ध्यान बहादुरको सङ्घर्षको सुरुवात २०४१ सालबाट भयो, जब एसएलसी सकेर रोजगारीको खोजीमा दुई साथीसँग काठमाडौँ आएका जिरेल भरियाको भूमिकामा पहिलो पटक मनास्लु ट्रेकिङमा गए। साथीहरूले छाडेपछि एक्लै परेका उनी चाहबेलमा बस्न थाले। त्यहाँ उनको एक सिनियर गाइडसँग भेट भयो। काम पाउने आशमा उनले ‘किचन ब्वाइ’को काम गर्न सक्ने बताए – एउटा सानो झुट, जसले उनको जीवनमा ठूलो मोड ल्यायो।
एक रात, अफिसको सुरक्षाको जिम्मा लिएका ध्यान बहादुरले एक रोचक घटना भोगे। राति अबेर कोही आएको देखेर चोर ठानी उनले एक मुक्का हाने। पछि थाहा भयो, ती व्यक्ति अर्को कम्पनीका कर्मचारी थिए। तर यो घटनाले उनको बहादुरी देखायो र उनलाई शेर्पाको रुपमा काम गर्ने अवसर मिल्यो। उनले शेर्पाको भूमिकामा अन्नपूर्ण सर्किटको ट्रेकिङ गर्ने मौका पाए। उनको ट्रेकिङको यात्रा यसरी सुरुहुँदै गर्दा २०४५ सालमा उनी जिरी टेक्निकल स्कुल पढ्न पुनः आफ्नो गाउँ जिरी फिर्किए। गरिबीसँग जुध्दै, स्कुलको छुट्टीमा उनी विदेशी पर्यटकहरूको खोजीमा निस्कन्थे। उनलाई सानै बाट विदेशीको गाइड बन्नुपर्छ मैले त्यो विदेशीको भारी बोक्नुपर्छ भन्ने लाग्थ्यो। एक दिन, स्कुल बिदा भएको मौकामा घर गएको बेला उनले तल बजारतिर गाडी जाँदै गरेको देखे। आलु खाँदै गरेको बेला, खल्तीमा आलु हालेर गाडीतर्फ दौडे। त्यहाँ तीन जना जर्मन पर्यटकहरूसँग भेट भयो। उनको अङ्ग्रेजी ज्ञान र आत्मविश्वासले पर्यटकहरूलाई प्रभावित पार्यो।
एक रोचक घटना त्यो यात्रामा भयो जब देउरालीबाट भण्डारतर्फ जाँदै गर्दा, पर्यटकहरूले उनीहरूलाई भाग्न लागेको शंका गरे। तर ध्यान बहादुरको इमान्दारिता र मेहनतले सबैको मन जित्यो। यो घटनाले उनलाई सिकायो कि विश्वास जित्न समय लाग्छ, तर एकपटक जितेपछि त्यो अमूल्य हुन्छ। अध्ययन सकेपछि उनले देशका विभिन्न स्थानमा करिब ८ वर्ष ७ वटा प्रोजेक्टमा सब ओभरसियरको रुपमा काम गरे। पछि जसले आफुलाई जागिर दियो उहीँ मानिसले घुस खाएको देखेपछि उनलाई नराम्रो लाग्यो। उनले त्यो जागिर नै छाडिदिए र भासिए कतार। कतारमा केही वर्ष काम गरेर नेपाल आएपछि उनले उहिँ आफ्नो पुरानो पेसा पर्यटक गाइडको रुपमा आफुलाई अघि बढाउँने निदो गरे।
आज ध्यान बहादुर एक सफल र सम्मानित पर्यटक गाइड मात्र होइनन्, उनी एक अन्तर्राष्ट्रिय सम्मान प्राप्त व्यक्तित्व हुन्। जर्मनीको अल्पाइन क्लबमा उनको तस्बिर टाँगिएको छ। उनका विदेशी साथीहरू नेपाल आउँदा उनको घरमा बस्छन्, उनको परिवारसँग घुलमिल हुन्छन्। यो सब उनको इमान्दारिताको फल हो।
विदेशी पर्यटकहरूले उनलाई भन्थे – ‘तिमी धेरै सोझो छौ, धनी हुन सक्दैनौ।’ तर उनको इमान्दारिताले उनलाई धन भन्दा ठूलो कुरा दियो – सम्मान र विश्वसनीयता। कतारमा ६ वर्ष बिताएर फर्किएपछि पनि उनले आफ्नो मूल्य र मान्यता कहिल्यै छाडेनन्।
आज पनि उनी नयाँ पर्यटक गाइडहरूलाई एउटै सन्देश दिन्छन् – ‘पर्यटक ठग्ने काम नगर्नू, इमान्दार बन्नू।’ उनको जीवन कथाले सिकाउँछ कि इमान्दारिता र कडा मेहनत गर्ने व्यक्तिले जीवनमा सधैं सफलता प्राप्त गर्छ।
इमान्दारिता कहिल्यै हार्दैन, यो ढिलो वा चाँडो जित्छ नै। उनको यात्राले देखाउँछ कि सफलताको लागि ठूलो पद वा धन चाहिँदैन, चाहिन्छ त केवल इमान्दार हृदय र कडा परिश्रम ध्यान बहादुरको जीवन कथाले भन्छ। उनै इमान्दार सहासी पर्यटक गाइड ध्यानबहादुर (डि.बि) सँग एभरेस्ट पेडियाले गाइडको कथा सृङ्खलामा कुराकानी गरेको छ।