काठमाडौं। अर्जेन्टिनाको अकोन्कागुवा हिमाल आरोहण गरेर स्वदेश फर्किएका कीर्तिमानी आरोही एवम् माउन्टेन गाइड मिङ्मा ग्याल्जेन शेर्पालाई विमानस्थलमा भव्य स्वागत गरिएको छ। शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका शेर्पालाई भव्य स्वागत गरिएको हो।
उनको स्वागतमा नेपाल पर्वतारोहण, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन, माउन्ट एभरेस्ट समिटर्स् क्लब, रोल्वालिङ दोलखा र इमाजिन नेपाल ट्रेक्सका प्रतिनिधिहरु विमानस्थल पुगेको थिए।
उनले विमानस्थलमा ओर्लिएपछि भने, ‘पहिलादेखि नै मेराे सपना थियाे, हामी नेपाली विश्वमै एक्स्प्लाेर हुनुपर्छ भनेर, अस्ति अस्टुबर ४मा ८ हजार माथिका १४ वटा हिमाल अक्सिजन बिना चढेकाे थिएँ। अनि त्यसैकाे निरन्तरता हाे याे।’
उनलाई र्यालीसँगै अरण्य बुटिक होटल पुर्याइएको छ। जहाँ उनको सम्मानका लागि स्वागत कार्यक्रम राखिएको छ।
उनले पुस १३ गते अकोन्कागुवा (६९६१ मिटर) हिमालको सफल आरोहण गरेका थिए। योसँगै उनले सेभेन समिट (सात महाद्धीपका शिखरहरु)को आरोहण पूरा गरेका छन्।
शेर्पाले गत असोजमा मात्रै चीनमा रहेको शिशापाङ्मा हिमाल बिनाअक्सिजन आरोहण गरेका थिए।
उनी ८ हजारमाथिका १४वटै हिमाल अक्सिजनबिना आरोहण गर्ने पहिलो नेपाली हुन्।