काठमाडाैँ। राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षण, २०८०को नतिजा सार्वजनिक भएकाे छ।
राष्ट्रिय तथ्यांक कार्यालयले एक वर्ष लगाएर गरेकाे सर्वेक्षणकाे नतिजा बुधबार सार्वजनिक भएकाे हाे। सर्वेक्षणमा नेपालमा सञ्चालनमा रहेका हाेटल तथा रेष्टुरेण्ट, तिनमा कार्यरत व्यक्तिहरु तथा लगानीकाे विवरण उल्लेख छ।
नजिता अनुसार २०८१सम्म नेपालमा हाेटल तथा रेष्टुरेण्टकाे संख्या १ लाख ४२ हजार २२३ रहेकाे छ। याे देशभरि सञ्चालनमा रहेका आवास तथा भाेजनसम्बन्धी आर्थिक क्रियाकलाप गर्ने हाेटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्रावास/होस्टेल, रेष्टुरेण्ट तथा क्याटरिङ/पार्टी प्यालेसकाे संख्या हाे।
यी हाेटल तथा रेष्टुरेण्टमा ३ लाख ८७ हजार ७४७ जना मानिस संलग्न रहेका छन्। यीमध्ये १ लाख ६ हजार ४५९ तलब लिएर जागिरकाे रुपमा कार्यरत छन् भने बाँकी व्यवसायी र व्यवसायीका परिवार हुन्।
उल्लेखित आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुले करिब रु. २ खर्व १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबरको रकम लागतको रुपमा खर्च गरी करिब रु. ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको देखिएकाे सर्वेक्षणमा उल्लेख छ। यस हिसाबले आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुले नेपालको अर्थतन्त्रमा करिब रु. १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको देखिन्छ।
त्यस्तै हाेटल तथा रेष्टुरेण्टमा रु. ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ। सञ्चालितमध्ये २८.४ प्रतिशतले ऋण लिएकाे देखिएकाे सर्वेक्षणमा उल्लेख छ। अर्थात्, ७१.६ प्रतिशत हाेटल कुनै पनि ऋणबिना सञ्चालनमा छन्।