काठमाडौं। ललितपुरमा जन्मिएका सुप्रदीप्त न्याैपानेलाई बाल्यकालदेखि नै हिमाल, डाँडाकाँडा र फूलहरुकाे फाेटाे खिच्न रहर लाथ्याे। उनी सम्भव भएजतिका फाेटाेहरु खिचेर राख्ने गर्थे। त्यतिबेला अहिलेका जस्ता डिजिटल क्यामेरा सहज रुपमा पाउन मुस्किल थियाे। त्यसैले उनले महत्वपूर्ण कुरा मात्रै खिच्थे। अरु सबैलाई दुर्बिनबाट हेरेर महसुस गर्थे।
घर नजिक रहेकाे टौदहमा विभिन्न मौसममा टाढा–टाढाबाट आएका पाहुना चराचुरुङ्गीहरुले त झन उनकाे मन नै जितेका थिए। टौदहमा चराहरु रमाएको देख्दा उनलाई तिनीहरुका दृश्यहरु खिच्ने इच्छा जाग्थ्यो। तर, स्पष्टसँग ती चराचुरुङ्गीहरुका दृश्य खिच्न मिल्ने क्यामेरा थिएन। त्यसैले उनले चराचुरुङ्गीका धेरैजस्ता क्रियाकलापहरु हेरेरै रमाउँथे। बिस्तारै-बिस्तारै टौदहका चराचुरुङ्गीहरुका गतिविधि सुप्रदीप्तका खुसीका कारण बने।
टौदहमा मौसमअनुसार टाढा–टाढाबाट चराहरु आउने गर्छन्। ती चराहरुले सीमित समय यहाँ बिताउँछन्। अनि फर्किन्छन्। ती फर्किएर जाने चराहरुका दृश्य खिच्ने धोको सुप्रदीप्तमा जाग्यो। अनि किने ठुलो लेसन्ससहितको क्यामेरा।
त्यसपछि सुप्रदीप्तलाई टौदह सानो लाग्न थाल्यो। उनले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र उपत्यकाबाहिरका निकुञ्जहरुमा पनि पुगेर फोटो खिच्न थाले।
सुप्रदीप्तका लागि वाइल्डलाइफ फोटोग्राफी पैसा कमानउे पेसा भने हाेइन। आनन्द र खुसीका लागि चराचुरुङ्गी र वन्यजन्तुका फाेटाेहरु खिच्ने गर्छन्। ‘चराचुरुङ्गीहरुका फोटो खिच्दा होस् या घरमा आएर कम्प्युटरमा फाेटाे हेर्दा होस्, एउटा छुट्टै खालको आनन्द मिल्छ। मेन मलाई चराहरुको फोटो खिच्दा आनन्द आउँछ, मेडिटेसन जस्तैहुन्छ’, उनले सुनाए।
सुप्रदीप्तले काठमाडौंमा मात्रै नभएर बाहिरका निकुञ्जहरुमा पनि पुगेर चराचुरुङ्गी र वन्यजन्तुहरुका फोटो खिचेका छन्। अहिलेसम्म तीन सय प्रजातीका चराचुरुङ्गीका फोटो खिचेका छन्। त्यसमा बाघलगायत केही वन्यजन्तुहरु पनि।
उनको अनुभवमा वाइल्डलाइफ फोटोग्राफी सजिलो काम होइन। चराचुरुङ्गी र वन्यजन्तुको सहजै भेटाउन गाह्राे हुन्छ। फाेटाे खिच्दा धेरै नै सावधानी अपनाउनुपर्छ। हल्का मात्रै खस्याकखुसुक गरे साेचे अनुसारकाे फाेटाे खिच्न सकिँदैन।
‘फोटो हेर्न मज्जा आउने हो। खिच्न धेरै गाह्रो छ। हामीले फोटो खिचेको उनीहरुले थाहा पाउनु हुँदैन। नत्र सोचेको जस्तो फोटो खिच्न नै सकिँदैन’, सुप्रदीप्तले भने, ‘धेरै धैर्यता चाहिन्छ। आफूले चाहेका चरा होस् या वन्यजन्तुका लागि घण्टौं कुर्नपर्छ। एउटा फोटोका लागि सय वटा फोटो खिच्नुपर्छ।’ उनले एउटा फोटाका लागि ६–७ घण्टा कुरेर बस्नु सामान्य भएको बताए।
तर, जतिसुकै दुःख पाएपनि फोटो खिचेपछि आनन्द महसुस हुने सुप्रदीप्त बताउँछन्, ‘फोटो खिचेर घर आएपछि खुब आनन्द महसुस हुन्छ। यसबाट पैसा कमाएर जीवन चलाउन गाह्रो छ। आनन्द लिने मात्रै हो।’ त्यस्तो त सुप्रदीप्त पनि अन्य पेसामा आबद्ध व्यक्ति हुन्। उनी शनिबार वा अन्य बिदाको समयमा फोटो खिच्न जाने हो।
सुप्रदीप्तलाई चराचुरुङ्गीका दृश्य र क्रियाकलापले जति खुसी मिलेको छ, त्यति दु:ख समाज र राज्यको असंवेदनशीलता देख्दा लाग्छ। नेपाली समाज र स्वयम राज्य पनि चराचुरुङ्गीहरुप्रति सचेत र संवेदनशील नभएकाे उनकाे तर्क छ।