काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले २६औं वार्षिकोत्सव मनाएको छ।
आज (मंगलबार) सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा विशेष समारोहको आयोजना गरेर प्राधिकरणले वार्षिकोत्सव मनाएको हो।
समारोहमार्फत प्राधिकरणले प्रगति विवरणसमेत प्रस्तुत गरेको थियो। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आर्थिक वर्ष २०८०/८१मा १४ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको बताए।
जसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख छ भने ननएरोनटिकलतर्फ तीन अर्ब १९ करोड ४९ लाख रुपैयाँ रहेको विवरण प्रस्तुत गरे।
त्यस्तै उनले गत वर्ष पुँजीगततर्फ नेपाल सरकारकोसहित १० अर्ब ५२ करोड ७० लाख रुपैयाँ लगानी भएको बताए। कार्य सञ्चालन खर्चतर्फ ४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च चार अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च १ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे।
प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख रहेको बताए।
प्रगति विवरण प्रस्तुत गर्ने क्रममा महानिर्देशक अधिकारीले सन् २०२३को नोभेम्बरसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कूल ४१ लाख ५४ हजार ३ सय ९३ रहेको बताए।
त्यस्तै सन् २०२३काे नोभेम्बरसम्ममा ४४ लाख ४९ हजार १३३ रहेको र गत वर्षको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको बताए।
यसैगरी आन्तरिक उडानतर्फ २०२३को नोभेम्बरसम्ममा कुल ७७ लाख हवाई यात्रुहरुले यात्रा गरेकोमा २०२४ को नोभेम्बरसम्म यो संख्या ८७ लाख ६० हजार ३ सय २ रहेको उनले सुनाए। गत वर्षको तुलनामा यात्रु संख्यामा आन्तरिकतर्फ १३ प्रतिशतले वृद्धि भएको उनले बताए।
वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्राधिकरणको प्रगतिप्रति खुसी व्यक्त गरे।