नेपाल पर्यटन बाेर्डले आज (मंगलबार) २६औं वार्षिकाेत्सव मनायाे। वार्षिकाेत्सव मनाउन बाेर्डकाे हलमा आयाेजित समाराेहमा बाेर्डकाे भूमिकालाई लिएर केही सवालहरु उठे। अहिले नेपालमा वार्षिक १०-११ लाख विदेशी पर्यटकहरु आउने गरेका छन्। कार्यक्रमकाे सुरुवातमै बाेर्डका कार्यकारी अधिकृत दीपक जाेशीले यस वर्ष साढे ११ लाख नेपाल आएकाे तथ्य प्रस्तुत गरेकाे थिए। यही तथ्यलाई लिएर कार्यक्रममा सहभागी मन्त्रीदेखि पर्यटनकर्मीहरु निराश भए।
चीन र भारत जस्ता विशाल देशकाे बिचमा रहेकाे नेपालजस्ताे प्राकृतिक र सांस्कृति विविधताले धनी देशमा वार्षिक १०-११ लाख मात्रै पर्यटक आउनु निकै कम संख्या भएकाे सहभागीहरुकाे भनाइ थियाे।
नेपालमा ३५ देखि ४० लाखसम्म विदेशी पर्यटक आउन सक्ने पूर्वाधार भएपनि अहिले काम भन्दा कम पर्यटकहरु आउने गरेका छन्, यस्ताे अवस्थामा अब पर्यटन बाेर्डकाे भूमिका कस्ताे हुनुपर्ला? यस विषयमा एभरेस्ट पेडियाले पर्यटनकर्मीहरुसँग कुराकानी गरेकाे छ ः
सागर पाण्डे (अध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल)
नेपाल पर्यटन बोर्ड २६ वर्ष अगाडिको पर्यटक आगमन, स्रोत–साधन र बुझाइका आधारमा स्थापना गरिएको थियो। तर, अहिले धेरै कुरा परिवर्तन भएको छ। बोर्डको अहिलेको काम नेपालको पर्यटनको मार्केटिङ गर्नु हो। तर, अब नेपाललाई त्यति धेरै मार्केटिङ गर्न आवश्यक छैन।
अब नेटवर्किङ र कनेक्टिभिटी बढाउनेमा जोड दिनुपर्छ। जस्तो: रोडको कनेक्टिभिटी बढाउने, एभिएसनको कनेक्टिभिटी बढाउने, नेपाल एयरलाइन्सलाई व्यवसायिकतातिर लैजाने जस्ता कुरामा ध्यान दिनु पर्ने हो। तर, यस्ता कुरामा पर्यटन बोर्डले चासो दिएको पाइँदैन। यी कुराहरुमा सुधार नगरेसम्म पर्यटन प्रवर्द्धन गरेर मात्रै पर्यटकहरु नेपालमा आउनेवाला छैनन्। त्यसैले अब पर्यटन बोर्डलाई पुनः संरचना गर्नुपर्छ।
कुमारमणि थपलिया (अध्यक्ष, नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स)
नेपाल पर्यटन बोर्डको इतिहास राम्रो छ। सँग सँगै गर्नु पर्ने कामहरु धेरै छन्। यो संस्था सार्वजनिक र निजी सहकार्यमा अगाडि बढ्ने गरी स्थापना भएको हो। तर, काम भने सरकार टू सरकार भइरहेका छन्। जुन कुरामा सुधार गर्ने प्रतिबद्धता पनि जाहेर भएको छ।
त्यस्तै हामीले अहिले १०–१२ लाख विदेशी पर्यटकमा रुमलिएका छौँ। तर, हामीसँग ३५–४० लाख पर्यटक भित्र्याउने पूर्वाधार छन्। त्यसैले पर्यटन बोर्डले मठ–मन्दिर निर्माणमा भन्दा पनि पर्यटन प्रवर्द्धनमा बजेट खर्च गर्नुपर्छ। र, कार्यनीतिमा पनि परिवर्तन ल्याउनुपर्छ।
लाक्पा फुटी शेर्पा (पर्यटनकर्मी)
हुन त पर्यटन बोर्डले नगरेको होइन, धेरै राम्रा कामहरु गरेको छ। तर, राजनीतिकरण बढी भएको छ जस्तो लाग्छ।
अहिले हामी अरुको देशमा गएर पर्यटकलाई आऊ आऊ भनिरहेका छौं। तर, अब त्यो भन्दा पनि पर्यटकहरुलाई नेपालमा आऊँ आऊँ लाग्ने वातावरण बनाउनुपर्छ। त्यसका लागि पहिला हामीले नेपालमा नै सबै निकायहरु मिलेर काम गरौँ। पूर्वाधार विकासमा जोड दिऔँ।
कुन्दन शर्मा मिश्र (वरिष्ठ अधिकृत, पर्यटन बोर्ड)
नेपाल पर्यटन बोर्डले २६औं वार्षिकोत्सव मनाइरहँदा केही नीतिगत कुराहरुमा सुधार गर्नु पर्ने अवस्था छ। जस्तो नेपाल पर्यटन बोर्डमा विगत ७ वर्षदेखि विज्ञापन खुलेको छैन। लोकसेवा आयोगले पास गरेको विनियमाली विगत ७ वर्षदेखि अल्मलिएर रहेको छ। त्यो विज्ञापन खुल्ने हो भने कति बेरोजगार साथीहरु हुनुहुन्छ उहाँहरुले यहाँ जागिर खान पाउनु हुन्थ्यो।
अब नेपाल पर्यटन बोर्डले भारत र चीनमा प्रचारप्रसारमा बढी ध्यान दिनुपर्छ। भारतमा १४० करोड र चीनमा १४० करोड जनसंख्या छ। पर्यटन बोर्डले त्यसको केही प्रतिशत मात्रै पर्यटक भित्र्यायो भने हामीले राखेका सबै लक्ष्यहरु पूरा हुन्छन्। त्यसैले मार्केटिङका लागि भारत र चीनमा कार्यालय खोल्नुपर्छ।
दिपक जोशी (प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड)
मूलतः पर्यटन बोर्डको काम नेपालको पर्यटन प्रवर्द्धन गर्नु हो। अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवर्द्धन गर्ने काम भइरहेको छ। र, निजी क्षेत्र र सरकार दुवैलाई समन्वय गराउने काम पनि भइरहेको छ। मुख्य कुरा अहिलेको हाम्रो चुनौती भनेको अन्तर्राष्ट्रिय बजारमा आक्रमक प्रवर्द्धन गर्नु हो। जुन डिजिटल रुपमा गर्नु पर्ने छ। अहिले हामीसँग २०, ३०, ५० वर्ष पुराना प्याकेजहरु छन्। तर, ती प्याकेजहरुबाट अब अगाडि बढ्न गाह्रो छ। त्यसैले हाम्रो अबकाे ध्यान नयाँ प्याकेज निर्माण र डिजिटल बजार प्रवर्द्धनमा छ।
फाेटाे/भिडियाे: मनिष अर्याल