काठमाडौँ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले २६ वर्षपछि सञ्चालन गरेको मध्यपुर महोत्सव आइतबार सम्पन्न भयो। मध्यपुर ठिमीलाई पर्यटकीय नगरको रुपमा विकास गर्ने उद्देश्यसहित पुस १२, १३ र १४ गरी दिन दिने महोत्सव आयोजना गरिएको थियो।
करिब चार महिनाको तयारीपछि आयोजना गरिएको महोत्सव सोचभन्दा बढी सफल भएको आयोजक मध्यपुर ठिमीका मेयर सुरेन्द्र श्रेष्ठले बताए।
‘हामीले करिब पाँच लाख मानिसले महोत्सव अवलोकन गर्लान् भन्ने सोचेका थियौँ तर हाम्रो अनुमान र मिडियाहरुको रिपोर्टहरु हेर्दा करिब सात लाख मानिस महोत्सवमा सहभागी भएको निष्कर्षमा हामीले निकालेका छौँ’, मेयर श्रेष्ठले भने।
नगरपालिकाको अनुमानित लागत २ करोड ३ लाख रहेको थियो। महोत्सवबाट भने त्यसभन्दा बढी आम्दानी भएको मेयर श्रेष्ठले बताए। ‘औपचारिक रुपमा हिसाब सार्वजनिक भएको छैन। तर, मलाई लाग्छ महोत्सवमा जुन किसिमको र व्यापार भयो। त्यसबाट हाम्रो लक्ष्यभन्दा धेरै नै आम्दानी भएको छ’, श्रेष्ठले भने।
उनका अनुसार तीनदिने महोत्सवका लागि पुग्ने अनुमान गरेर उत्पादन गरिएका सामानहरु दोस्रो दिनमा नै सकिएका थिए। महोत्सवमा स्थानीय कला, संस्कृति र मौलिक कुराहरुलाई प्रदर्शनीमा राखिएको थियो। जस्तै बजी, योमरी, बारालगायत परिकार। माटाका भाँडा बनाएको, चर्खा घुमाएको, धागो काटेको। हस्तकला, चित्रकला र नृत्य प्रदर्शन।
पर्यटनमा आशा जाग्यो
मध्यपुर ठिमी परम्परागत र सांस्कृतिक दृष्टिकोणले सम्पन्न ठाउँ हो। विभिन्न महत्व बोकेका जात्राहरु, माटाका भाँडाहरु, नेवारी संस्कृतिलगायत कुरामा मध्यपुर ठिमी धनी छ। यीनै कुराहरुलाई प्रवर्द्धन गर्नका लागि नै महोत्सवको आयोजना गरिएको हो।
मध्यपुर महोत्सव सुरेन्द्र श्रेष्ठ जनप्रतिनिधि भएको बेलादेखि नै सुरु भएको थियो। तर, त्यसपछि राज्य संरचनामा आएको परिवर्तन र भू–कम्पले संरचनाहरुमा पुगेको क्षतिका लागि २६ वर्षदेखि रोकिएको थियो। जसलाई यसपटकबाट निरन्तरता दिन थालिएको हो।
अहिलेको महोत्सवको सफलताले मध्यपुर ठिमीमा पर्यटनको आशा जगाएको मेयर श्रेष्ठको भनाइ छ। ‘हाम्रो संस्कृति र परम्पराप्रति मानिसहरुको जुन किसिमको आकर्षण देखियो, यसले यहाँ पर्यटनमा ठुलो सम्भावना जगाएको छ’, उनले भने, ‘अब हामीले यहाँको पर्यटनलाई योजना बनाएर नै अगाडि बढाउँछौँ।’
उनले महोत्सव महिनैपिच्छे गर्ने गरी योजना बनाउने बताए।
मौलिकता झल्काउने मध्यपुर महोत्सव (फोटो/भिडियो)