काठमाडौं। तनहुँको हिलस्टेसन बन्दीपुरमा पर्यटकीय चहलपहल बढाउन सन् २०२५ लाई ‘बन्दीपुर भ्रमण वर्ष’का रुपमा मनाइने भएको छ। बन्दीपुर गाउँपालिकाको अग्रसरतामा मनाउन लागिएको भ्रमण वर्षमा एक लाख आन्तरिक र त्यति नै सङ्ख्यामा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
भ्रमण वर्ष सचिवालयले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार कार्यक्रमका संयोजक वंैंश गुरुङले भने, ‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा ८ लाख पर्यटक बन्दीपुर घुमाउने छौं।’
“प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवम् सुसंस्कृत बन्दीपुरको परिकल्पना र पर्यटक आगमन बढाउन भ्रमण वर्ष आयोजना गरेका हौं”, गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सम्मेलनमा भने।
भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ। साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पु¥याइनेछ।
हाल बन्दीपुरमा मात्र ७५ होटल र चार ओटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन्। जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ।
“भ्रमण वर्षमार्फत् पर्यटकीय सुविधायुक्त होमस्टे सर्किट प्रवद्र्धन गरिनेछ योजना छ। साथै सिजन अनुसारका प्याकेज बनाइने सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए। भ्रमण वर्षका लागि चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ। गाउँपालिका, प्रदेश सरकार र स्थानीय संघसंस्थाको सहयोगबाट रकम जुटाइने गाउँपालिकाले जनाएको छ।
स्मरणीय छ, बन्दीपुर वि.सं. २०२५ सम्म तनहुँको सदरमुकाम थियो। त्यसपछि सदरमुकाम दमौली सारियो। समयक्रममा बन्दीपुर डाँडाका बासिन्दा दमौली, काठमाडौं र नारायणगढ झरे। ५० को दशक आइपुग्दा बन्दीपुरले भूताहा सहरको उपमा पाएको थियो।
आफ्नो पुख्र्यौली थलो भूताहा बस्तीमा परिणत भएपछि बन्दीपुरबाट बाहिर रहेका बन्दीपुरेले गाउँफर्क अभियान सुरु गरे। उनीहरूले शिक्षाविद् चिजकुमार श्रेष्ठको नेतृत्वमा ‘बन्दीपुर सामाजिक विकास समिति’ गठन गरे। समिति मार्फत, शिक्षा, स्वास्थ्य, पर्यटन आदिको विकासमा योगदान पु¥याइयो। र, छोटो समयमै बन्दीपुरले पुर्नःजीवन पायो।
बन्दीपुरले पुर्नजीवन दिलाउन मुख्य योगदान पु¥याउनेहरूमा शिक्षाविद् चिजकुमार श्रेष्ठ, पर्यटनविद् शान्तकुमार श्रेष्ठ, डा. मदन पिया, स्वास्थ्यविज्ञ नमस्तेभूमि श्रेष्ठ लगायतको उल्लेखनीय योगदान छ।
के भन्छन् बन्दीपुरका अगुवाहरू ?
घुमौं बन्दीपुर
चिजकुमार श्रेष्ठ
शिक्षाविद्
हाम्रो पुख्र्यौली थलो बन्दीपुरलाई पुर्नजीवन दिनुपर्दछ भनेर काठमाडौंमा ‘बन्दीपुर सामाजिक विकास समिति’ गठन गरेर बन्दीपुर फर्क अभियान सुरु ग¥यौं। पर्यटन, शिक्षा र स्वास्थ्यमा फोकस गर्न सके बन्दीपुर फेरि उठ्छ भन्ने निचोडमा हामी पुग्यौं। र, सबै मिलेर काम ग¥यौं। छोटो समयमै बन्दीपुरले पुर्नजीवन पायो। आज बन्दीपुर पर्यटकीय हब बन्न पुगेकामा खुसी छौं।
चम्किलो बन्दीपुर
शान्तकुमार श्रेष्ठ
पर्यटनविद्
बन्दीपुर लुकेको बस्ती थियो। बन्दीपुरमा मैले रिसोर्ट सुरु गर्नु अघि चितवन राष्ट्रिय निकुञ्जमा होटल चलाइसकेको थिएँ। म बन्दीपुरमा जन्मेको मान्छे, केही गर्नुपर्छ भन्ने लाग्यो। र, टेन्टेड रुपमा रिसोर्ट खोलेको हुँ। बन्दीपुरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा हामी सफल भएका छौं। अहिले भ्रमण वर्ष मनाउन लाग्दा ज्यादै खुसी लागेको छ।
टुरिजम हब बन्दीपुर
सुरेन्द्रबहादुर थापा
अध्यक्ष, बन्दीपुर गाउँपालिका
बन्दीपुरका पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्ने, संस्कृतिको प्रचार गर्ने र स्वरोजगार सिर्जना गरी युवालाई बन्दीपुरमै रमाउने एवम् कमाउने वातावरण बनाउन हामीले भ्रमण वर्ष मनाउन लागेका हौं। बन्दीपुर गाउँपालिकाभरि नै भ्रमण वर्षले आर्थिक चहलपहल बढाउनेमा हामी आशाबादी छौं। हामी समग्र बन्दीपुरलाई टुरिजम हबका रुपमा चम्काउनेछौं।
बन्दीपुरमा होमस्टे सर्किट
हरिसिं गुरुङ
पर्यटनविद्
समग्र बन्दीपुरको विकास कसरी गर्न सकिन्छ भनेर हामीले भ्रमण वर्ष मनाउन लागेका हौं। बन्दीपुरलाई केन्द्रबिन्दु बनाएर सेरोफेरोको विकास गर्दै स्वरोजगार सिर्जना गर्ने हाम्रो उद्धेश्य हो। हामी बन्दीपुर वरपरका ७ ओटा होमस्टेलाई जोडेर होमस्टे सर्किट बनाउँदैछौं। त्यसैले पर्यटकमा धेरै दिन पर्यटक घुमफिर गर्न सक्नेछन्। हामीले विभिन्न किसिमका प्याकेज बनाएका छौं।
बन्दीपुरमा सबैलाई निम्तो
वैंश गुरुङ
संयोजक, बन्दीपुर भ्रमण वर्ष–२०२५
भ्रमण वर्षमा घुम्न आउने सबै पाहुनालाई स्वागत गर्न चाहन्छु। भ्रमण वर्षमा हामी विभिन्न कार्यक्रम आयोजना गर्नेछौं। सन् २०२५ मा आउने पाहुनाले विगतमा भन्दा नयाँ सेवा सुविधाका साथै थप गन्तव्य घुम्ने अबसर पाउनु हुनेछ। तपाईं पनि आउनुस् है !