पाल्पा। पाल्पाको तानसेन नगरपालिकामा महिलाद्वारा साप्ताहिक सडक मेला सुरु भएको छ। मेला हरेक साताको शुक्रबार दिउँसो १ बजेदेखि आयोजना हुने आयोजकले जानकारी दिएका छन्।
तानसेन नगरपालिका वडा नम्बर ४ र मखनटोल टोल विकास संस्थाको आयोजना तथा सिटिज फोर वमेन (युनोप्स) को सहजिकरणमा टोल विकास संस्थाका महिलाकै अगुवाईमा सञ्चालन भएको हो । महिलाले उत्पादन गरेका सामाग्री, खानाका परिकार, लघु तथा घरेलु उद्यमका सामग्रीहरु मेलामा प्रदर्शनी हुने टोल विकास संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले बताइन्।
महिलामैत्री सहर बनाउने अवधारणा अनुसार तानसेनको व्यस्त मखनटोलमा साप्ताहिक सडक मेला सुरु गरिएको तानसेन नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले बताए।
सडक मेलाको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र युनोप्सका कन्ट्री डाइरेक्टर कोमल कार्कीले उद्घाटन गरे । युनोप्सका सल्लाहकार सुर्य आचार्यले समाजका लागि गरिने विकासलाई दिगो बनाउन र जन चाहना अनुसार नै विकास गर्ने योजना अनुसार युनोप्सले काम गर्ने उनले बताए । नगरपालिकाको ३० प्रतिशत र युनोप्सको ७० प्रतिशत लगानीमा महिलामैत्री पार्क निर्माणको काम अघि बढेको छ।
साप्ताहिक सडक मेलामा स्थानीय खानाका परिकारहरूका २० देखि २४ स्टल सहभागी भई आफ्ना उत्पादनका साथै खानाका परिकारहरु प्रदर्शनी तथा बिक्री बितरण गरिने तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए।
महिला नेतृत्वको बजार, संयुक्त अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ वडा नम्बर ४ संग मिलेर मखनटोल टोल विकास संस्थाले महोत्सवको आयोजना गरेको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले बताइन्।
सडक मेलामा स्थानीय खानाका परिकारहरू बटुक, सेल, कोदोको सेल, नेवारी बारा, मिसमास, योमरी, झिनियाँ, चुकाउनी, छोयला, नेवारी रोटीका परिकार लगायत स्थानीय खानाका स्टलहरू रहेको थियो । महिला उद्यमीले तयार पारेका खानाका परिकारका साथै कोदोको पिठो, बेसार, हस्तकलाका सामग्रीसमेत राखिएको महिला उद्यमी ज्योति राजभण्डारीले बताइन्।