पूर्वी पहाडी जिल्ला भोजपुरबाट सन् २००१ मा सपनाको सहर काठमाडौं झरेका ला दोर्ची शेर्पाको जीवन सङ्घर्षपूर्ण छ। सुरुका दिनमा भरिया बनेर विदेशीसँगै पदयात्रामा हिँडेका उनले केही वर्षपछि पथ प्रदर्शक बनेर पनि काम गरे। मुलुकका अधिकाँश पदमार्ग छिचोले। तर, वर्षका दुईचार महिना मात्र पदयात्राको काम पाइने भएकाले जिन्दगी सजिलो भएन।
‘पर्यटक गाइडको पेसा रमाइलो र आकर्षक देखिन्छ तर वास्तविकता भने फरक छ’, करिब एक दशक पर्यटनकर्ममा विताएका शेर्पा भन्छन्, ‘वर्षमा दुईचार महिना मात्र काम पाइन्छ। त्यसको आम्दानीले वर्षभरि गुजारा चलाउन धौधौ पर्दछ। त्यसैले मैले ट्रेकिङ गाइड पेसा नै त्यागिदिएँ।’ अचेल उनी साथीसँग मिलेर काठमाडौंमा क्याटरिङ व्यवसाय गर्छन्। यसबाट परिवारको राम्रो गुजारा चलिरहेको छ।
‘धेरैले सोच्छन् कि गाइड भनेको देशविदेश घुम्ने, रमाइलो गर्ने पेसा हो’, उनले भने, ‘खर्च धान्नै मुश्किल भयो। वचत हुन छाड्यो । त्यही भएर क्याटरिङ व्यवसायमा लागेको हुँ।’
त्यसो त शेर्पा वनस्पतिविद् पनि हुन्। क्याटरिङको काम सधैं हुँदैन। बाँकी समय उनी गाउँघर, वनजङ्गल र हिमाली भेकतिर पुगेर वनस्पतिको अध्ययन गर्दछन्। वनस्पतिको अध्ययन गर्ने विद्यार्थीका लागि गाइडको भूमिका पनि निर्वाह गर्छन्।
भर्खरै उनीसहित मान बहादुर रोकाया, शालिग्राम सिग्देल, सरोजकुमार कसजू मिलेर ‘प्लान्ट्स अफ काठमाडौं भ्याली’ नामक आकर्षक पुस्तक प्रकाशन गरेका छन्। भरिया र गाइड बनेर हिमाली भेकतिर उकाली ओराली गर्दा उनले मुलुकलाई नजिकबाट नियाल्ने अबसर पाए। सुख र दुःखका अनुभूति सँगाले। हिमाली क्षेत्रमा पर्यटक लैजाने गाइडको जीवन जोखिमपूर्ण एवम् चुनौतीपूर्ण हुन्छ। मौसमी प्राकृतिक जोखिमका साथै टिम वर्कमा आउने समस्याहरूले पनि काममा चुनौती थप्छन् ।
उनीसँग धेरै रोमाञ्चक अनुभूति छन्। एक पटक त बाटो संकेत गर्न कोरिएको रेखालाई मेटेर कुनै बदमाशले अर्कोतिर रेखाङ्खकन् गरिदिएछ। ‘त्यो लाङटाङको यात्रा कहिल्यै बिर्सन्न’, उनी भन्छन्, ‘एकातिर जानु पर्ने हामी अर्कैतिर पुगेछौं। र निकै दुःख पायौं।’
उनको जीवनकथाले पर्यटन क्षेत्रमा काम गर्ने गाइडहरूको वास्तविकता चित्रण गर्दछ। यसै सन्दर्भमा शेर्पासँग एभरेस्ट पेडियाले गाइडको कथा सृङ्खलामा कुराकानी गरेको छ।