भक्तपुर। मध्यपुर थिमी नगरपालिकाको आयोजनामा आजदेखि ‘मध्यपुर महोत्सव’ सुरु भएको छ।
मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवको उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे।
उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री सिंहले महोत्सवले यहाँका मूर्त अमूर्त सम्पदाहरुलाई बुझाउने र चिनउने बताए। उनले आफू जन्मिएको ठाउँ र परिवेश बुझ्न जरुरी रहेको उल्लेख गर्दै यो महोत्सवले त्यो पूरा गर्ने बताए।
‘हाम्रा पूर्खाले सिकाएका संस्कार, संस्कृति र परम्परालाई उजागर गर्न यो महोत्सवले टेवा पुर्याउने छ’ सिंहले भने।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले महोत्सव आयोना भएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिए।
२६ वर्षपछि आयोजना गरिएको महोत्सवमा नगरपालिकाका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शनी, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्द्धन गरिने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार १०५ स्थानमा घरेलु उत्पादनहरु राखिएको छ। भने, २५ प्रकारका नाचहरु महोत्सवमा देखाइने छ। त्यस्तै माटोका भाँडाहरुलाई विशेष महत्वका साथ प्रदर्शनीमा राखिएको छ।
महोत्सव पुस १४ गतेसम्म चल्ने छ।