खर्चिलो व्यवस्थापनसहित पर्यटकीय राजधानी पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भयो। महोत्सवमा बुधबार र बिहीबार ठुलो चहलपहल देखियो। ९ दिनसम्म चल्ने महोत्सव करिब २ लाख मानिसले अवलोकन गर्ने आयोजक नेपाल बेलुन प्रा.लि.ले अनुमान छ।
आकाशमा उडिरहेका हट एयर बेलुन र चर्चित कलाकारहरुले दिइरहेको बेजोड प्रस्तुतिले फेवाताल किनार रोमाञ्चित छ। बेलुन फेस्टिभलका लागि विभिन्न देशका प्रतिनिधिहरू पोखरामा उत्रिएका छन्।
त्यससँगै क्रिसमस डे’का गतिविधिले मंगलबार र बुधबार झनै उत्साह थपिदियो। पर्यटकीय गतिविधिसँगै क्रिसमस डे मनाउन देशी र विदेशी पर्यटकहरु पोखरामा आएका छन्। यसरी अंग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा पोखरामा पर्यटनको रौनक बढेको छ।
यतिमात्रै होइन, आइतबार र सोमबार दोस्रो ड्रागन बोट फेस्टिभल हुँदैछ। यसका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहीबार १२९ जना खेलाडी पोखरा उत्रिएका छन्। भने, अन्य प्रतिनिधिहरु पनि आउने क्रम जारी छ।
त्यस्तै शनिबारदेखि सडक महोत्सव पनि सुरु हुँदैछ। भने, अंग्रेजी नयाँ वर्षका थुप्रै कार्यक्रमहरु आयोजना हुँदै छन्।
पोखरा ‘फेस्टिभ’मय बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए। ‘अहिले पोखरा फेस्टिभमय बनेको छ। विगतमा यस्ता महोत्सवहरु अरु बेला हुन्थे भने अहिले न्यूएअरको बेलामै भए, त्यसलै पनि चहलपल बढ्यो’, उलने भने।
उनले विगतको तुलनामा यो वर्षको अंग्रेजी नयाँ वर्षमा पर्यटकको आगमन बढेको र पर्यटन क्षेत्रमा उत्साह थपिएको उल्लेख गरे।
बेलुन नयाँ आकर्षण
अध्यक्ष पहारीका अनुसार ड्राग बोट फेस्टिभल अघिल्लो वर्ष पनि भएको थियो। भने, सडक महोत्सव त झन लामो समयदेखि सञ्चालन भइरहेको छ। त्यसमा बेलुन महोत्सव भने पोखरा र समग्र नेपालका लागि नयाँ आकर्षण हो।
भक्तपुरका युवा विक्रम बाडेले विगत ६ वर्षदेखि हट एयर बेलुनको सुरुवात गरेका थिए। बढ्दो आकर्षणलाई मध्यनजर गर्दै अहिले भने महोत्सव सुरु गरे। जसले विदेशी पर्यटकको समेत ध्यान तान्न सफल भएको छ। ‘हट एयर बेलुन पोखराको नयाँ आकर्षण हो। यसकै लागि पोखरा आउने पर्यटकहरु धेरै छन्, न्यूएअरको समयमा महोत्सव हुनाले धेरै पर्यटकहरु आउनु भएको छ’, अध्यक्ष पहारीले एभरेस्टपेडियासँग भने।
उनले पोखराको महोल राम्रो रहेको बताउँदै सबै पर्यटककलाई पोखरामा निम्तो गरे।
भिडियोः