काठमाडौं। जङ्गल अर्थात् प्रकृति। त्यहाँ पुग्दा नेचुरल थेरापी हुन्छ। जङ्गलको शान्त वातावरणमा हुँदा वा रमाइलो गर्दा शरीरबाट इन्ड्रोफेनिस र सेरोटोनिन केमिकल रिलिज हुन्छ। यस्तो केमिकल रिलिज हुँदा रिल्याक्स र आनन्द मिल्छ।
सेरेटोनिनलाई त ‘हयाप्पी हर्मोन’ भनिन्छ। त्यसैले जङ्गलमा पुगेर फोटो खिच्नै पर्छ भन्ने छैन। त्यहाँको शान्त वातावरणमा बस्दा पनि आनन्द हुन्छ। घरपरिवार र काम सबैलाई बिर्सिएर आफैंलाई ख्याल गर्ने समय पाइन्छ। मन र शरीर दुवै रिचार्ज हुन्छन्। ऊर्जा बढ्छ।
जनाबर र चराचुरुङ्गीको आनीबानी र तिनको जीवन संघर्षलाई नजिकबाट हेर्दा हामीले धेरै कुरा सिक्न सक्छौं। एउटा महत्वपूर्ण कुरा, जङ्गलमा जाँदा अनुभवी र असल पथ प्रदर्शक लिएर जानु पर्दछ।
वाइल्ड लाइफ फोटोग्राफीमा स्थापित एउटा नाम हो, निकीता श्रेष्ठ शाक्य। ललितपुरको पाटनमा जन्मे-हुर्केकी निकीताले वाइल्डलाइफ फोटोग्राफीलाई प्राथमिकतामा राखेको १० वर्ष पूरा भयो। त्यसभन्दा पहिला पनि उनी कुकुरका बच्चा देख्दा घण्टौं लगाएर तस्बिर खिच्थिन्। पार्कतिर जाँदा पुतलीलाई पच्छ्याउँथिन्।
उनलाई भिडभाड मन पर्दैन। त्यसैले क्यामेरा बोकेर कहिले काठमाडौं वरपरका जङ्गलमा जान्छिन् त कहिले चितवन, नवलपरासी र बर्दियातिर पुग्छिन्। विशेषतः तराईका जिल्लामा जान रुचाउँछिन्।
‘तराईमा मिठो आत्मीयता पाइन्छ’, निकीता भन्छिन्, ‘मान्छेहरू धेरै सहयोगी छन् । फोटोग्राफीका धेरै विषयवस्तु पनि पाइन्छन्।’
उनी आफूले खिचेका तस्बिर र भिडियो सामाजिक सञ्जालमा राख्छिन्। वाइल्डलाइफ फोटोग्राफी उनको रुचिको विषय। ‘यसबाट आर्थिक आम्दानीभन्दापनि आत्मसंतोष पाइरहेकी छु’, उनी भन्छिन्, ‘मनको शान्तिभन्दा ठुलो कुरा संसारमा के छ र ?’
वाइल्डलाइफ फोटोग्राफीमा महिलाको संख्या कम छ। ‘नेपाली समाज महिलाको कामलाई अन्डरस्टिमेट गर्छ’, उनी भन्छिन्, ‘हामी महिला कहिल्यै हतोत्साही बन्नु हुँदैन। सधैं उत्साही भएर आफ्नो काममा लाग्नु पर्छ।’
निकीता काठमाडौंको सेन्ट जेभियर्स कलेजमा मनोविज्ञानकि लेक्चरर हुन्। उनी भैंसेपाटीमा खोलिएको सुद सर्भिसेज्बाट काउन्सिलिङ र तालिम पनि दिन्छिन्।