काठमाडौं। भनिन्छ, जीवनमा एकपटक मुस्ताङ घुम्न जानुपर्छ। हुन पनि हो धार्मिक, सांस्कृतिक र हिमाली परिवेश बुझ्न मुस्ताङ उपयुक्त स्थान हो। तर, मुस्ताङलाई बुझ्न तीनपटक घुम्नु पर्ने तर्क राख्छन घरपझोङ गाउँपालिका, मुस्ताङका अध्यक्ष मोहनसिंह लालचन।
‘मुस्ताङलाई बुझ्न तीनपटक घुम्न आउनुपर्छ। विन्टकरमा एकचोटी, वसन्त ऋतुमा एकचोटी अनि स्याउ फल्ने समयमा एकचोटी, बल्ल थाहा हुन्छ मुस्ताङ’, उनले भने।
उनले सिजनअनुसार फरकफरक वातावरण हुने भएकाले सबै सिजनमा घुमेपछि मात्र मुस्ताङबारे बुझ्न सकिन बताए। ‘यो विन्टरमा गयो भने अर्कै भूगोल देखिन्छ, न रुखमा पात देखिन्छ न भूँइमा हरियो। अब यहाँका मानिसले के खान्छ भनेर सोच आउँछ। यहाँको जनजीवन कस्तो होला भन्ने हुन्छ। फूल फुल्ने सिजमा गए पहिला आउँदा त्यस्तो थियो अहिले यस्तो भएछ भन्ने हुन्छ। अब स्याउको सिजनमा जाँदा अहो! यहाँ त कति रमाइलो रहेछ भन्ने हुन्छ’, उनले भने।
तीनपटक जाँदा तीन किसिमको स्वाद पाइने उनले बताए। पर्यटन व्यवसायीले पर्यटकलाई सबै सिजनबारे बुझाउन जरुरी रहेको उनको भनाइ छ।
मुस्ताङ धार्मिक, सांस्कृतिक र पदयात्राका लागि उपयुक्त जिल्ला हो। मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्डदेखि विभिन्न गुम्बाहरूले धार्मिक पर्यटनलाई टेवा पुर्याएका छन्। त्यसमाथि कोरला नाका खुलेपछि व्यापारिक गतिविधि र मानसरोवारसम्म पुग्ने मार्गले मुस्ताङलाई विकास गरेको छ। विगतमा विशेष र निश्चित उद्देश्य राखेका पर्यटक मुस्ताङ पुग्ने गरेकामा अहिले सामान्यतया भारतीय नागरिक र आन्तरिक पर्यटक पुग्ने गरेको अध्यक्ष मोहनसिंहले बताए।
‘नेपालको बारेमा धेरै कुरा थाहा हुन्छ भनेर आन्तरिक पर्यटक आउने गर्नुहुन्छ। त्यसमाथि अहिले भारतीय पर्यटक बढेको अवस्था छ। सहासिक यात्रा गर्नेहरूको पनि संख्या बढ्दो छ। हरेक हिसाबले मुस्ताङको पर्यटन विकास भएको छ’, उनले भने।
मुस्ताङमा पर्यटक वृद्धि हुनुमा सडकमार्गको सहजताले धेरै भूमिका खेलेको छ। आफ्नै सवारी साधन लिएर परिवार भ्रमणका लागि अपर मुस्ताङसम्म पुग्न सकिन्छ। अझै मोटरसाइकलबाट यात्रा गर्नेहरूको संख्या उल्लेख्य छ।
मुस्ताङ घुम्न जानेले सहजताका लागि विशेषगरी हवाई माध्यम प्रयोग गर्ने गर्छन्। तर, हाई अल्टिच्युटमा एक्कैचोटी पुग्न भन्दा सडकमार्ग हुँदै बिस्तारै घुम्दै जानु उपयुक्त हुने उनको सुझाव छ। उनकाअनुसार कम उचाइबाट एकै पटक उच्च उचाइमा पुग्दा स्वास्थ्यमा समस्या देखिन सक्छ। जसकारण घुम्न गाह्रो हुने हुन सक्छ। ‘उडेर एकैचोटी माथि पुग्नुभन्दा बिस्तारै घुम्दै घुम्दै जाँदा राम्रो हुन्छ। सडकबाट यात्रा गरे पो बल्ल त्यहाँ संस्कृति पनि बुझ्न सकिन्छ’, उनले भने।
अपर (उपल्लो) मुस्ताङ प्रवेशमा लाग्ने शुल्क र स्थानीयको अपेक्षा
मुस्ताङको उपल्लो क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ। यहाँ भ्रमण अनुमति लिनका लागि अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क बुझाउनुपर्छ। यो शुल्क तिरेपछि १० दिनका लागि प्रवेश अनुमति पाइन्छ। त्यसमाथि पनि १० दिनको प्याकेज अनिवार्य गरिएको छ। अर्थात्, पर्यटकको चाहना एक वा दुई–तीन दिन मात्र घुम्ने भए पनि अनिवार्य रुपमा पाँच सय डलर तिरेर अनिवार्य रुपमा १० दिनको प्याकेज लिनुपर्छ। यो प्रक्रिया व्यवहारिक नभएको अध्यक्ष मोहनसिंहले बताए।
‘१० दिनको एक प्याकेज लिनै पर्ने व्यवस्था छ, भनेसी पाँच सय डलर पर्यो। त्यो नगरी पर्यटकले कति दिन घुम्न चाहन्छ त्यही अनुसार ५० डलरका हिसाबले शुल्क लिए ठुलो मात्रामा पर्यटक आउँछन जस्तो लाग्छ’, उनले भने।
शुल्क कम लिएमा धेरै पर्यटक आउने र स्थानीय व्यवसायीलाई फाइदा हुने उनले बताए। चर्को प्याकेजका कारण पर्यटक पनि त्यही किसिमले आउने र स्थानीयहरूले पनि लाभ लिन नसक्ने स्थिति सिर्जना भएको उनको भनाइ छ।
त्यस्तै कोरला नाका व्यवस्थित गरेर सञ्चालनका ल्याएमा पर्यटन विकासमा टेवा पुग्ने उनको विश्वास रहेको छ।