सुनसरी। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ देखि माघ ५ गतेसम्म धरान एक्सपो–२०८१ आयोजना हुने भएको छ।
एक्सपोमा १४२ वटा स्टल रहने र १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। कोशी प्रदेशका सबै जिल्लाका साथै भारत, पाकिस्तान र बंगलादेशका व्यापारीहरूको सहभागिता रहने यस एक्सपोमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ।
एक्सपो मुल संयोजक गोपाल श्रेष्ठका अनुसार व्यवसायिक, उद्यमी र कृषि क्षेत्रका लागि पर्याप्त स्थान छुट्याइएको छ। साथै पर्यटन, स्वास्थ्य र साहित्यसँग सम्बन्धित स्टलहरू पनि रहनेछन्।
संघका महासचिव महेन्द्र प्रधानले एक्सपोमा पर्यटन, कृषि, स्वरोजगार र वित्तीय क्षेत्रसँग सम्बन्धित गोष्ठी तथा प्रशिक्षण कार्यक्रमहरू पनि समावेश गरिएको जानकारी दिए।
संघका अध्यक्ष विजय श्रेष्ठले दैनिक दुई हजार आगन्तुकले एक्सपो अवलोकन गर्ने अनुमान गरेका छन्। धरानको सुस्ताएको व्यापारिक गतिविधिलाई पुनर्जीवन दिने उद्देश्यका साथ आयोजना गरिएको यस एक्सपोमा हरेक दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ।
एक्सपो सफल बनाउन ५०१ सदस्यीय आयोजक समिति गठन गरिएको छ र यो धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार तथा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आयोजना हुन लागेको हो।