पोखरा। ठुलो आर्थिक जोखिम मोलेर भक्तपुरका युवा विक्रम बाडेले पोखरामा सहासिक खेल हट एयर बेलुन सञ्चालन गर्दै आएका छन्। यसले पोखरालाई साहसिक पर्यटन गन्तव्यका रुपमा चिनाएको छ।
बाडेको क्रम्पनी ‘बेलुन नेपाल’ सन् २०१६ मा स्थापना गरिएको हो। यसले सन् २०१८ नोभेम्बर १६ देखि व्याबसायिक रुपमा बेलुन उडाउँदै आएको छ। कम्पनीमा बाडेसहित दीपककुमार श्रेष्ठ र सविन महर्जन साझेदार छन्।
बेलुन नेपालसँग फरकफरक यात्रु क्षमताका तीन वटा बेलुन छन्। ६ जना, ८ जना र १२ जना बस्न मिल्ने बास्केट भएका। ऊसँग बेलायत, स्पेन र फ्रान्सका तीन जना अनुभवी पाइलट छन्।
बेलुन बिस्तारै लोकप्रिय बन्दैछ। बेलुनमा झुन्डाइएको बास्केटमा बसेर हिमाल, ताल, गाउँघर र हरिया डाँडापाखा नियाल्दा सुखानुभूति हुन्छ। कुमारी हिमाल माछापुच्छ्रेसँग आँखा जुधाउँदै, पामेबजार, फेवाताल, पञ्चासे डाँडा, नागबेली डाँडापाखा र बस्तीहरूमा नजर डुलाउँदा अलौकिक आनन्द मिल्छ।
बिहान र साँझपख बेलुन उडाइन्छ। लगातार चार घण्टासम्म उडाउन मिल्छ। बेलुनलाई ४ हजार मिटर माथिसम्म उडाउन सकिन्छ। यसमा कुनै इन्जिन हुँदैन, तातो हावाको मद्धतले उडाइन्छ। एलपिजी ग्याँस बालेर बेलुनको हावा तताइन्छ । पाइलटले बेलुनको गति र दिशा नियन्त्रण गर्छन्।
बेलुनमा नेपालीको आकर्षण बढ्दै गएको छ। बाडेका अनुसार यसरी उड्नेहरूमा ४० प्रतिशत नेपाली छन्। त्यसबाहेक ४० प्रतिशत सार्क मुलुकका छन् भने बाँकी २० प्रतिशत अन्य देशका।
बेलुन महोत्सव
मङ्गलबारदेखि पोखराको पामे फाँटमा प्रथम अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। बेलुन नेपाल प्रा.लि. र पोखरा पर्यटन परिषदको संयुक्त आयोजनामा भइरहेको महोत्सवमा विभिन्न देशका पाइलट बेलुनसहित सहभागी भएका छन्। साँगीतिक महोत्सवसहित बेलुन उडान भइरहेको छ। महोत्सवकै लागि सय जना भन्दा बढी पर्यटक पोखरामा आएका छन्।
‘बेलुन महोत्सवले पोखराको प्रवद्र्धनमा ठुलो टेवा पु¥याउने छ’, परिषद्का अध्यक्ष तारानाथ पहारी भन्छन्, ‘यसले संसारभर सकारात्मक सन्देश प्रवाह गर्नेछ।’ महोत्सव १ जनवरी सन् २०२५ सम्म सञ्चालन हुनेछ।