हेटौंडा। दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङमार्ग पर्यटकका लागि खुला गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङमार्गको उद्घाटन गरेका हुन्।
जीर्णोद्वार सुरुङमार्गको २०२७८ वैशाखबाट पुनःनिर्माण सुरु गरिएको थियो। गत वर्षको असोजमा नै पुनःनिर्माणको काम सकिएको भए पनि एक वर्षदेखि बन्द अवस्थामा राखिएको सुरुङमार्ग सोमबारबाट पर्यटकका लागि खुला गरिएको हो।
सुरुङमार्गको स्वामित्व हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७मा उक्त सुरुङ निर्माण गरिएको थियो। नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङबीच भागमा भासिएर जोखिम अवस्थामा थियो।
अब भने यस सुरुङमार्गमा सर्वसाधारणहरु प्रवेश गर्न पाउने छन। सुरुङमार्ग अवलोकनका लागि नेपाली नागरिकले ५० रुपैयाँ तथा विदेशी नागरिकले १२० रुपैयाँ तिर्नु पर्ने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ। भने, विद्यार्थीका लागि २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। त्यस्तै ५ वर्षमुनिका बालबालिका, अपांग र जेष्ठ नागरिकलाई निःशुल्क गरिएको छ।
उद्घाटनपछि मुख्यमन्त्री लामाले सञ्चालनका लागि उचित कार्यविधि बताउनु पर्नेमा जोड दिए।
त्यस्तै सुरुङमार्गले मात्रै पर्यटकलाई आकर्षण गर्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘पर्यटकहरु यही हेर्नका लागि आएर मात्रै हुँदैन। पर्यटकहरुले धेरै कुराहरु हेर्न खोज्छन् त्यसैले यहाँ अरु संरचनाहरु पनि निर्माण गर्नुपर्छ।’