पोखरा। हिमाली सौन्दर्य, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्दै जैविक विविधतामा रमाउने पर्यटकहरूका लागि पोखरामा एउटा नयाँ गन्तव्य थपिएको छ, ‘झुप्राङकोट’ (२,३०० मिटर)। पोखरा महानगरपालिका– १६ मा अवस्थित यस ठाउँलाई मुलकोट मन्दिर, कालिलेक र ग्रिन वालका रुपमा समेत सम्बोधन गरिन्छ।
-1734679742.jpg)
बिहानै उत्तरतिर अन्नपूर्ण, माछापुच्छे«सहितका हिमसृङ्खला र दक्षिणमा पोखराको मनोरम दृश्य देख्दा सबै रमाउँछन्। यहाँबाट करिब एक घण्टा हिँडेमा नागीडाँडा पुगिन्छ, जहाँबाट धौलागिरिदेखि मनास्लु हिमालसम्मको लामो लर्कन देख्न सकिन्छ।
झुप्राङकोट ऐतिहासिक थलो पनि हो। यहाँ कास्कीकोटका राजा कुलमण्डन शाहले दरबार बनाएर बसेको इतिहास छ। यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सक्रिय पर्यटन अभियन्ता टंक सुवेदी भन्छन्, ‘कुलमण्डन शाहले कहिले कास्कीकोट र कहिले झुप्राङकोटबाट शासन गरेका थिए।’

डाँडामा दरबारका भग्नावशेष छन्। दरबारको गारो र पर्खालका भग्नावशेषका साथै ओखल, ढिकी, जाँतो, बङकर देखिन्छ। केही पुराना भाँडाकुँडा पनि पाइएका छन्।

कोटमा खाना र बासको सुबिधा छैन। एक जना युवा लिलाबहादुर गुरुङले टि हाउस खोल्ने तयारी गरेका छन्। अहिलेका लागि झुप्राङकोटको बेस क्याम्प हर्पाक वा गर्लाङमा बस्नु पर्ने बाध्यता छ।
हर्पाक गाउँमा होटल सुबिधा छ भने गर्लाङ गाउँमा होमस्टे। हर्पाकमा बाहुन, गुरुङ र दलित समुदायको बसोबास छ। त्यसैगरि गर्लाङ गुरुङ गाउँ हो।

गर्लाङ वा हर्पाकबाट आधा घण्टा हिँडेमा आलेबारी पुगिन्छ। आलेबारीबाट अर्को डेढ घण्टा हिँडेमा झुप्राङकोटको थाप्लोमै पुगिन्छ। आलेबारीसम्म पोखराबाट सडक सञ्जाल जोडिएको छ। पोखराबाट एक घण्टामा मोटर बाइक वा निजी सवारी साधनमा पुग्न सकिन्छ। झुप्राङकोट चाँडै नै हिलस्टेसनका रुपमा चम्किने सम्भावना देखिन्छ। अचेल हिउँदमा यहाँ वनभोज खानेहरूको मेलै लाग्छ।

‘झुप्राङकोटको सौन्दर्य शब्दमा वर्णन गर्नै सकिँदैन’, पर्यटन अभियन्ता सुवेदी भन्छन्, ‘यो त स्वर्गकै एउटा टुव्रmा हो। यसलाई पर्यटन गन्तव्यका रुपमा चम्काएरै छाड्छौं।’
झुप्राङकोटबाट नागीडाँडा, ताराहिल टप, सिक्लेस, कपुचे लेक हुँदै ताङतिङसम्म पदयात्रा गर्न सकिन्छ। पहिलो दिन झुप्राङकोट बेस क्याम्पमा, दोस्रो दिन नागिडाँडा क्षेत्रमा, तेस्रो दिन सिक्लेस र चौंथो दिन ताङतिङमा बास बस्न सकिन्छ। यसलाई नयाँ पदमार्गका रुपमा ब्रान्डिङ गर्ने कि ?

जङ्गलको बाटो शान्त र रमणीय छ। पदमार्ग सुधार, संकेत पाटीको व्यवस्था र ठाउँठाउँमा टि हाउस बनाउन सके नयाँ पदमार्ग संसारभरका पर्यटकका लागि अतुलनीय उपहार बन्न सक्छ। त्यसैले गाउँलेको होस्टेमा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार र पर्यटन बोर्डले हैंसे गर्नुपर्ने देखिन्छ।
कसरी पुग्ने ?
पोखराबाट लामाचौर वा बाटुलेचौर हुँदै अमलाबिसौनी पुग्ने। त्यहाँबाट घार्मी, कुरेचौर हुँदै आलेबारीसम्म मोटरबाइक वा गाडीमा। आलेबारीबाट डेढ घण्टामा झुप्राङकोट।
आउनुस् है !
टंक सुवेदी
पर्यटन अभियन्ता
इतिहास, प्रकृति र संस्कृतिमा रमाउने पर्यटकका लागि झुप्राङकोट स्वर्ग नै हो। प्रकृतिले त हामीलाई दिएकै छ, अब यसलाई व्यवस्थित गरेर गाउँलेले पर्यटनबाट फाइदा लिनुपर्छ। त्यसका लागि गुरुयोजना बनाएर अघि बढने तयारीमा छौं। हामी सबैको सहयोगको प्रतीक्षामा छौं। तपाईं पनि घुम्न आउनुस् है, हामी सहयोग गर्न हरपल तयार छौं।’
सम्पर्क: ९८५६०२०२१२
-1734679741.jpg)
-1734679737.jpg)
-1734679738.jpg)
-1734679739.jpg)
-1734679739.jpg)
-1734679736.jpg)
-1734679735.jpg)
-1734679734.jpg)
-1734679733.jpg)