काठमाण्डौ। नेपाली पर्यटन व्यवसायीहरूको लागि छ महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम २०८१ पुस १ गते काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम १ गते समापन भएको हो। कार्यक्रमको मुख्य उद्देश्य नेपालका पर्यटन व्यवसायीहरूलाई चिनियाँ पर्यटकहरूसँग अझ प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउनु थियो।
समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले कार्यक्रमको सफलतामा प्रसन्नता व्यक्त गर्दै भने, ‘नेपालको पर्यटन विकासमा भाषिक सीपको महत्त्वपूर्ण भूमिका छ। चिनियाँ पर्यटकहरूलाई सहज सेवा प्रदान गर्न यस्ता प्रशिक्षण कार्यक्रमहरू आवश्यक छन्।’
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐयर ले पनि भाषा दक्षताको महत्त्वलाई जोड दिँदै भने, ‘भाषा पर्यटन व्यवसायमा प्रभावकारी सेवा र अतिथ्यको आधार हो। यसखाले कार्यक्रमहरूले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धी बनाउन योगदान पुर्याउँछ।’
यस वर्षको कार्यक्रममा जम्मा १०० जना सहभागी भएका थिए, जसमध्ये ४० जनाले चिनियाँ भाषा मापदण्ड अनुसारको दक्षता हासिल गर्दै प्रमाणपत्र प्राप्त गरे। प्रशिक्षित सहभागीहरू अब नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूको बढ्दो चापलाई सम्बोधन गर्न सक्षम भएका छन्।
चिनियाँ दूतावासका मिशन उपप्रमुख वाङ सिन ले नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउने यस्ता कार्यक्रमको प्रशंसा गर्दै भने, ‘नेपाल र चीनबीचको सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ बलियो बनाउने यो एउटा महत्वपूर्ण कदम हो।’
नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा। हरिशचन्द्र शाह ले कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिँदै भने, ‘यो तालिम कार्यक्रमको सफलताले नेपाली पर्यटन व्यवसायीहरूलाई नयाँ अवसरहरू प्रदान गर्नेछ। प्रशिक्षार्थी, प्रशिक्षक र सहकार्य संस्थाहरूको भूमिका प्रशंसनीय छ।’
कार्यक्रमले नेपालको पर्यटन व्यवसायीहरूलाई व्यावसायिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको र नेपाल(चीनबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।
नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीहरूलाई विभिन्न विषयमा नियमित रूपमा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ, भाषा सीप, डिजिटल प्रवर्धन, प्रकृतिमा आधारित पर्यटन र आतिथ्य व्यवस्थापन प्रमुख छन्।