काठमाडौं। देशकै ठुलो महानगर काठमाडौं महानगरपालिकाको ३० औँ महानगर दिवसको अवसर पारेर शनिबार टुडिखेलमा सांगीतिक कार्यक्रम गरिएको छ ।
दिवसको अवसरमा बिहान सैनिक मन्च टुडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो जसमा सबै वडाबाट ल्याइएका सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेललगायत प्रदर्शन गरिएका थिए ।
टुँडिखेल मैदानमा मौलिक खाना र पेय पदार्थ र एक वडा एक नमूना उत्पादनअन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदशनी पनि राखिएको थियो ।
त्यस्तै अपरान्हको सांगीतिक कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय व्याण्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमसहित कलाकारको प्रस्तुति रहेको छ ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ।