जिरी। जिरी बजारको शिरमा अवस्थित दोलखाको रमणिय हिलस्टेसन च्योर्दोङलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु गरिएको छ। जिरीमा जन्मेहुर्केका पर्यटन अभियन्ता लिलाराम खड्काको नेतृत्वमा ‘जाऔं है च्योर्दोङ’ अभियान शुभारम्भ गरिएको हो।
त्यसका लागि काठमाडौंबाट लेखक, पत्रकार, फोटोग्राफर र साइक्लिस्टको एक समूह बुधबार साँझ जिरी आइपुगेको छ। उनीहरू बिहीबार च्योर्दोङ पदयात्रा गरेर साँझ डाँडामै क्याम्पिङ गरेर बस्नेछन्।
‘पर्यटनको प्रशस्तै सम्भावना बोकेको च्योर्दोङमा संसारभरका पर्यटकको ध्यानाकर्षण गराउन हामीले जाऔं है च्योर्दोङ अभियान सुरु गरेका हौं’, अभियानका संयोजक खड्का भन्छन्, ‘हाम्रो अभियानले च्योर्दोङको प्रचार गर्नेनै छ, साथै आवश्यक पूर्वाधार विकास गर्न सरोकारवालाई झक्झक्याउने छ।’
च्योर्दोङ भ्रमण दलमा ५ जना चर्चित साइक्लिस्ट पनि सहभागी छन्। नेपाल साइकल संघका महासचिव रञ्जन राजभण्डारी नेतृत्वको टोलीले च्योर्दोङ र जिरीमा साइकल पर्यटनको सम्भावना अध्ययन पनि गर्नेछ। पर्यटन प्रवद्र्धन मञ्च नेपालको ब्यानरमा कार्यक्रम आयोजना गरिएको हो। यसरी विगत डेढ दशकदेखि खड्काले जिरी र समग्र दोलखाको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउँदै आएका छन्।
समूहमा अभियानका संयोजक खड्का, बरिष्ठ पत्रकार चन्द्रशेखर कार्की, समाजसेवी भक्तशंकर श्रेष्ठ, पत्रकारहरू सुरेन्द्र राना मगर, रोहेज खतिवडा, राजकुमार गजुरेल, लोकराज भट्ट, जीवन लामा, उज्जवल श्रेष्ठ र काजी थापा सहभागी छन्। त्यसैगरि पर्यटनकर्मी सेम्दुक लामा, सगरमाथा आरोही लालबहादुर जिरेल र साइक्लिस्टहरू रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ, सिर्जना अधिकारी र चन्दा खड्का छन्।
जिरीबाट च्योर्दोङ जोड्न क्याङसीसम्म सडक ट्रयाक खुलिसकेको छ। त्यहाँसम्म जिपमा गएर तीन घण्टा हिँडेमा डाँडामा पुगिन्छ। क्याङसी पोखरी पोखरी परिक्रमा गरेर धुपधुँवार गरेपछि च्योर्दोङ चढ्नु राम्रो मानिन्छ। डाँडाको थाप्लोमा प्राचीन महादेव मन्दिर छ। नजिकै महादेवको प्रतिमा पनि बनाइएको छ। महादेव (महेश्वर) दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ। मनोकांक्षा पुरा हुने विश्वासमा भक्तजन त्रिशुल चढाउँछन्।
हिन्दु र बौद्धमार्गीको साझा तीर्थ हो च्योर्दोङ। आ–आफ्ना हिसाबले पुज्छन्। बौद्धमार्गीको उड्ने लामाको कथा जोडिएको छ यहाँ। महादेव पूजेमा रोग व्याध नलाग्ने, वन्यजन्तुले चौपायलाई दुःख नदिने जनविश्वास छ। जिरी नगरपालिकाको वडा नं १, २, ५ र ४ को शीरमा पर्छ च्योर्दोङ। डाँडामा बास बस्ने सुविधा छैन। कुनै पाटी वा धर्मशाला छैन। क्याम्पिङ गर्न भने मिल्छ।
स्थानीय निकायले पेमादिङसम्म मोटर बाटो खुलाएर खाना र बासका लागि होटल खोल्न सके च्योर्दोङ पर्यटकीय गन्तव्यका रुपमा चम्किन बेर लाग्दैन।
कसरी पुग्ने: काठमाडौं–जिरी १८८ किमि। काठमाडौंको जडीबुटीबाट छुट्ने गाडिले ६ घण्टामा जिरी पु¥याउँछन्। जिरीबाट जिपमा १ः५ घण्टा जिप यात्रामा क्याङ्सी। क्याङ्सीबाट ३ घण्टा पदयात्रामा च्योर्दोङ। जिरीबाट हिँडेर जान भने ६ घण्टा लाग्छ।