काठमाडौँ। स्वास्थ्य सेवा तथा उद्दार संघ नेपालले शिक्षा र बाल अधिकारलाई प्रोत्साहन गर्ने उद्देश्यले आज वालसेवा माध्यमिक विद्यालय, झोछेंका २०० विद्यार्थीलाई झोला, पानीको बोतल, र विविध शैक्षिक सामग्री वितरण गरेको छ।
कार्यक्रममा बाल अधिकारको महत्त्वबारे सचेतना जगाउन काठमाडौँको ऐतिहासिक वसन्तपुर डबलीमा चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो। संघकाका अध्यक्ष अल्ताफ हुसैनले बाल हिंसा रोकथाम र बाल अधिकार संरक्षणका लागि जनचेतना जगाउने अभियानलाई कला माध्यमले प्रेरणादायी बनाउने लक्ष्य रहेको बताए।
विद्यालयका प्रधानाध्यापक मन्जु पाठक कडेलले संस्थालाई धन्यवाद व्यक्त गर्दै, ‘शैक्षिक सामग्रीले विद्यार्थीलाई थप हौसला र प्रोत्साहन प्रदान गरेको छ,’ उनले भनिन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णभक्त मानन्धरले पनि संस्थाको प्रयासको प्रशंसा गर्दै, ‘यस सहयोगले बालबालिकाको अध्ययनमा महत्त्वपूर्ण सहयोग पुग्नेछ। यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पार्नेछन्,’ उनले भने।
कार्यक्रमका मुख्य दाता यतिम वाक्फी, टर्की रहेका थिए। यसलाई नेपालमा स्वास्थ्य सेवा तथा उद्दार संघ नेपाल को साझेदारीमा सफलतापूर्वक कार्यान्वयन गरिएको हो।
सन् १९९४ मा स्थापना भएयता, शिक्षा, स्वास्थ्य, अनाथ सहायता, जीविकोपार्जन विकास, पानी, सरसफाइ र आपतकालीन राहतजस्ता क्षेत्रमा संघ सक्रिय रहदै आएको छ। यसले नेपालको ३५ भन्दा बढी जिल्लाहरूमा योगदान पुर्याउँदै समुदायहरूको समृद्धिमा काम गर्दै आइरहेको छ।
संघले आफ्नो सेवामूलक अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउने प्रतिबद्धता पुनः दोहोर्याएको छ।