सिड्नी। अष्ट्रेलियाको सिड्नीमा आगामी नोभेम्बर २३ मा आयोजना हुने नेपाल महोत्सव २०२४ को तयारी तीव्र गतिमा अघि बढेको छ। डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुने यस वर्षको महोत्सवले नेपाली मौलिक परम्परा र आधुनिक संस्कृतिको संगम प्रस्तुत गर्ने आयोजक समितिले जनाएको छ।
एनआरएनए एनएसडब्लु राज्य समितिको आयोजनामा हुन लागेको यस महोत्सवमा करिब पचास हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ। ६ महिना अगाडिदेखि नै तयारी थालिएको यस महोत्सवमा विशेष गरी नेपाली पाकशाला, हस्तकला प्रदर्शनी, र सांगीतिक कार्यक्रमहरूको आयोजना गरिने भएको छ।
महोत्सव संयोजक विनोद कुँवरका अनुसार यसपटक विशेष गरी अष्ट्रेलियामा जन्मिएका नयाँ पुस्तालाई लक्षित गरी कार्यक्रमहरू तय गरिएको छ। ‘हामीले नेपाल हाउसको अवधारणा ल्याएका छौं, जहाँ नेपालका महत्वपूर्ण सम्पदाहरूको प्रदर्शनी हुनेछ,’ उनले भने।
महोत्सवमा १४ वटा खाद्य स्टलका साथै चाइनिज गार्डेनमा थप ३५ वटा स्टलहरू रहने छन्। विशेष आकर्षणको रूपमा पशुपति शर्मा, द एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुति रहने छ। साथै परम्परागत नेपाली खाना, शैक्षिक परामर्श र नेपाली हस्तकला सम्बन्धी सामानहरूको प्रदर्शनी हुनेछ।
करिब २ लाख ५० हजार अष्ट्रेलियन डलरको लागतमा आयोजना हुन लागेको यस महोत्सवले नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र स्थानीय अष्ट्रेलियन समुदायसँग सांस्कृतिक आदानप्रदान गर्ने लक्ष्य राखेको छ।
कार्यक्रम सुरु हुनु अघि विशेष परेड र झाँकीमार्फत विभिन्न जातजातिको मौलिक पोशाकमा बाजागाजासहित शान्ति पदयात्रा गरिने छ। यस महोत्सवले प्रवासमा रहेका नेपालीहरूबीच एकता र भाइचारा बढाउनुका साथै स्थानीय राजनीतिक नेतृत्वसँग नेपाली समुदायको सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको छ।